काठमाण्डौं - नेपाली युवा विक्रम खड्काले सबैभन्दा लामो समय वृक्षासन (ट्रि पोज) मा बसेर विश्व कीर्तिमान बनाएका छन् । योग प्रशिक्षक समेत रहेका खड्काले ३ घण्टा ५० मिनेटसम्म वृक्षासन अर्थात एउटा खुट्टा जमिनमा टेकेर अर्काे खुट्टालाइ टेकिएको खुट्टाको घुँडाभन्दा माथी राखेर दुवै हातलाई नमस्कार मुद्रामा राखेर गरिने आसनमा बसेर विश्व कीर्तिमान बनाएका हुन । उनलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डले केही हप्ता अघि प्रमाण पत्र दिएको छ ।
गिनिज बुकले पठाएको उक्त प्रमाणपत्र मन्त्रिपरिषदका पूर्व अध्यक्ष तथा पूर्व प्रधानन्याधिश खिलराज रेग्मीले आज बिहीबार खड्कालाई औपचारिक रुपमा प्रदान गरेका छन् । प्रमाणपत्र वितरण गर्दै रेग्मीले नेपाल आफैमा आध्यात्मिक भूमी भएको चर्चा गर्दै खड्काको यो अर्वाडले नेपाललाई विश्व सामु थप परिचित गराउन सहयोग गरेको बताए ।
यसअघि वृक्षासनको विश्व रेकर्ड भारतीय नागरिक सनत रथको नाममा थियो । १८ जुन २०२० मा बैंगलोरका सनतले १ घण्टा ६ मिनेट ५५.३ सेकेन्डसम्म वृक्षासनमा बसेर गिनिज बुकमा नाम लेखाएका थिए ।
वाच्छा १, पर्वत स्थायि ठेगाना भएका विक्रम खड्काले यसअघि २०६४ सालमा टुँडिखेलमा लगातार पाँच घण्टासम्म टाउकोले टेकेर उभिएका थिए । यस्तै २०६५ सालमा लगातार चार घण्टासम्म बलेको मैनबत्तीमा आँखा नझिम्काइ हेरेको हेर्यै (त्राटक) गरेका थिए ।