काठमाडौं । नेपाली भाषाको सबलीकरण तथा सुदृढीकरणका लागि देशभरका नेपाली भाषा शिक्षकहरूलाई संगठित गर्ने उद्देश्यले नेपाली भाषा शिक्षक समाजको केन्द्रीय भेला सम्पन्न भएको छ। काठमाडौंको त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालयमा सम्पन्न भेलाले नेपाली भाषा शिक्षण, संरक्षण, प्रवर्द्धन तथा विकासका क्षेत्रमा सक्रिय शिक्षकहरूलाई एउटै संस्थागत संरचनामा जोड्ने निर्णय गरेको हो।
भेलाले नारायणप्रसाद गौतमको अध्यक्षतामा ९९ सदस्यीय केन्द्रीय तदर्थ समिति गठन गरेको छ। नवगठित समितिको उपाध्यक्षमा उमेश अधिकारी र महिला उपाध्यक्षमा राममाया अधिकारी चयन भएका छन्। त्यस्तै, प्रदेश उपाध्यक्षमा हरिप्रसाद तिमिल्सिना र रूपिन्द्रप्रभावी जोशी रहेका छन्।
महासचिवमा राजेन्द्रप्रसाद रिमाल, उपमहासचिवमा पुरनप्रसाद पैंतौला, बुद्धिसागर अधिकारी र शकुन्तला भण्डारी तथा सचिव (अर्थ) मा जीवराज आचार्य चयन भएका छन्। समितिको केन्द्रीय सदस्यमा काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, सिन्धुली, लमजुङ, मकवानपुर, रूपन्देही, तनहुँ, नुवाकोट, बागलुङ र सुर्खेतलगायत विभिन्न जिल्लाका शिक्षकहरूलाई समेटिएको छ। केन्द्रीय सदस्यमा अर्जुनकुमार श्रेष्ठ, नवराज भेटुवाल, शिवराम चालिसे, विमला लामिछाने, नीता पोखरेल, मणिराम घिसिङ, गणेश बुढा, हिमालयप्रसाद शर्मा, विक्रमराज भट्टराई, प्रतिमा पौडेल, खेमनाथ सापकोटा, विश्वराज खनाल, देवीप्रसाद खरेल, सरिता ढकाल फुँयाल, सुरेशकुमार बस्नेत, लक्ष्मीप्रसाद घिमिरे, शान्ता पन्थी, डा. सीता सुवेदी पन्थी, रमेशचन्द्र घिमिरे, माधवप्रसाद गौतम, भीमप्रसाद भुषाल, जुनामाया कार्की, मोहन विष्ट, इन्द्रा खड्का, गायत्रीप्रसाद खनाल र भूपेन्द्र वि.सी. रहेका छन्।
त्यस्तै, समाजको केन्द्रीय सल्लाह परिषद्मा डा. जानुका नेपाल, केदारप्रसाद दाहाल र कुमारप्रसाद खतिवडा रहेका छन्। भेलाले नेपाली भाषाको मौलिकता, शुद्धता र प्रयोगलाई थप व्यवस्थित बनाउँदै विद्यालय तहमा नेपाली भाषा शिक्षणलाई प्रभावकारी बनाउन शिक्षकहरूको भूमिका महत्वपूर्ण रहेको निष्कर्ष निकालेको छ। समाजले देशभरका विद्यालय तह (कक्षा ०–१२) मा नेपाली भाषा अध्यापन गराउँदै आएका शिक्षकहरूलाई संस्थासँग आबद्ध हुन हार्दिक अनुरोध गरेको छ।
शिक्षकहरूबीच सहकार्य, अनुभव आदानप्रदान र नेपाली भाषा शिक्षणको गुणस्तर सुधार गर्दै नेपाली भाषाको संरक्षण तथा प्रवर्द्धनमा योगदान पुर्याउने उद्देश्य समाजले लिएको जनाएको छ।

