काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवाको औपचारिक निमन्त्रणामा भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदी नेपाल भ्रमणमा आउने भएको छ । प्रधानमन्त्री देउवाले गत चैत १८ देखि २० गतेसम्म भएको आफ्नो भारत भ्रमणका बेला भारतका समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्तो दि एका थिए। सोहीअनुसार भारतका प्रधानमन्त्री मोदी जेठ २ गते नेपाल आउन लागेका हुन्।
जेठ २ गते बुद्ध पूर्णिमा (बुद्ध जन्मजयन्ती)का अवसरमा भारतीय प्रधानमन्त्री मोदीले विश्व सम्पदा सूचीमा सूचीकृत बुद्धको जन्मस्थल लुम्बिनीको नेपाल भ्रमण गर्ने योजना बनाएको युनेस्कोले जनाएको छ । सन् २०१९ मा भारतका प्रधानमन्त्रीका रूपमा पुनः निर्वाचित भएपछि हुन लागेको उनको यो पहिलो उच्चस्तरीय नेपाल भ्रमण हो ।
सो अवसरमा नेपालका प्रधानमन्त्री देउवा र उनका समकक्षी मोदी दुवै जना लुम्बिनीमा हुने समारोहमा सहभागी हुनुहुने जनाइएको छ । लुम्बिनीमा मायादेवी मन्दिरमा दुवै प्रधानमन्त्रीले दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ । तथापि यस सम्बन्धमा परराष्ट्र मन्त्रालय र प्रधानमन्त्री कार्यालयले औपचारिक घोषणा गर्न भने बाँकी छ । भारतका प्रधानमन्त्री मोदी कुशीनगर अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल आउने कार्यक्रम रहेको छ।