काठमाडौं - सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ। यही फागुन २६ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्न शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री कार्कीले यस्तो बताउनुभएको हो।
‘अभिव्यक्ति स्वतन्त्रतामा नेपाल दक्षिण एशियामै अग्रणी मुलुकका रुपमा स्थापित गर्न सरकार लागिपरेको छ’, उहाँले भन्नुभयो। सञ्चारकर्मीको प्रश्नको जवाफमा उहाँले युट्युबसम्बन्धी नयाँ व्यवस्था गरेर यसलाई अझ व्यवस्थित र मर्यादित तुल्याउन खोजिएको तर अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्न नभएको स्पष्ट पार्नुभयो।
‘हामी सभ्य र सुन्दर समाज निर्माण गर्न चाहन्छौँ’, मन्त्री कार्कीले भन्नुभयो, ‘वर्तमान सरकारले अभिव्यक्ति स्वतन्त्रतामा सङ्कुचन हुनेगरी कुनै कानुन ल्याउँदैन र विगतमा ल्याइएका कानुन पनि आवश्यकताअनुसार परिमार्जन गरिनेछ।’ नेपाललाई संसारभर चिनाउन र सरकार जनताको हितमा काम गर्दैछ भन्ने सन्देश फैलाउन र आवश्यक सहयोग जुटाउन पनि विभिन्न देशमा सरकारीस्तरमा भ्रमण हुन लागेको उहाँले जानकारी दिनुभयो।