भादगाउँ - नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले युक्रेनबाट पाठ सिकेर सबै छिमेकीसँग नेपालले समदूरीमा रहेर परराष्ट्र नीति अँगाल्नुपर्ने बताएका छन्।
नेकपा (एकीकृत समाजवादी) भक्तपुर नगर समितिले आयोजना गरेको भेलामा उनले विश्वमा समाजवादी शक्ति पहिलेभन्दा अघि बढ्न सक्ने परिस्थिति बन्दै गएको बताए। नयाँ संविधानअनुसार सम्पन्न निर्वाचनमा दुईवटा कम्युनिष्ट पार्टीहरू एकताबद्ध भएर अगाडि बढ्ने अवसर जुटेको उनको भनाइ छ।
अवसरका आधारमा झण्डै दुईतिहाइ बहुमत प्राप्त गरेर सरकार निर्माण गर्दा जनताको आकांक्षा सगरमाथाजस्तै चुलिएको चर्चा गर्दै नेता खनालले केपी शर्मा ओलीले प्रधानमन्त्रीको शपथ खाएको दिनदेखि पार्टीलाई बेवास्ता गरेको आरोप लगाउनुभयो। पार्टीको निर्देशन नमानेर देश र जनतालाई धोका दिएको आरोप उनको छ।