असोज २९ गते २०८३ || October 15, 2026

राहत सामग्री नगरपालिकामा, पीडितको घरबाहिर बास


मंगलबार, कात्तिक २१ २०८००२:१६

राहत सामग्री नगरपालिकामा, पीडितको घरबाहिर बास

जाजरकोटको सदरमुकामस्थित भेरी नगरपालिकाको कार्यालय परिसरभित्र र बाहिर भूकम्प प्रभावितको सहयोगका लागि प्राप्त भएको राहत सामग्रीको थुप्रो छ । तर कार्यालयनजिकै भूकम्पबाट अति प्रभावित थाप्लेका पीडितले अहिलेसम्म पनि राहत सामग्री नपाएको गुनासो गरेका छन् । 

भेरी नगरपालिका –३ थाप्लेका दीपककुमार शाह तीन दिनदेखि घर बाहिर बस्दैआएको बताउछन  । ६०–७० जनाको समूह घर बाहिर त्रिपाल लगाएर बस्दैआएको उनले बताएका छन्  । शाह भन्छन् , ‘अहिलेसम्म राहत लिएर कोही पनि आएका छैनन्, हामी आफैँ व्यवस्थापन गरेर बसिरहेका छौं ।’ 

सदरमुकाम भएका कारण विभिन्न सङ्घ संस्थाले राहत लिएर नगरपालिकामा बुझाउने गरेका छन् । बारेकोट, नलगाड र रुकुमपश्चिमका स्थानीय तह टाढा भएकाले अधिकांश दाताहरु सदरमुकामस्थित जिल्ला प्रशासन कार्यालय र भेरी नगरपालिकामा पुगेर राहत हस्तान्तरण गरी फर्किने गरेका छन् । 

भेरी नगरपालिकाका सूचना अधिकारी सूर्यप्रसाद लम्साल नगरभित्र रहेका कच्ची घर अधिकांश भत्केको र चर्केको अवस्थामा रहेको बताए  । करिब चार हजार बढी घरमा क्षति पुगेको उनको  भनाइ छ । लम्सालले भने , ‘क्षतिको पूर्ण विवरण सङ्कलनका लागि टोली परिचालन भएको छ ।’ 

जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार एकद्वार प्रणालीबाट राहत वितरण भइरहेको लम्सालले बताए  । नगरप्रमुख सीपी घर्तीले भूकम्प पीडितलाई प्राप्त राहत र नगरपालिका आफैले व्यवस्थापन गरेर राहत वितरण गरिरहेको बताए  । प्रारम्भिक चरणमा ब्ल्याङ्केट, पिफर्म, पाल, चामल प्रभावितलाई उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ । 

यसैबीच नेकपा (एमाले) बाँकेका तर्फबाट पार्टी केन्द्रीय सचिव पद्मा अर्यालको नेतृत्वमा जाजरकोट पुगेर राहत सामग्री हस्तान्तरण गरिएको छ । 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend