असोज २९ गते २०८३ || October 15, 2026

१ लाख ४९ हजार ९० निर्वाचन प्रहरी भर्ना गर्न बजेट स्वीकृत


आइतबार, पुस २० २०८२०३:४६

१ लाख ४९ हजार ९० निर्वाचन प्रहरी भर्ना गर्न बजेट स्वीकृत

 आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि भर्ना गरिने प्रहरीका लागि बजेट सुनिश्चत गरिएको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीले निर्वाचनका लागि बजेट माग गर्दै गृह मन्त्रालयमा पत्राचार गरेका थिए । गृहबाट अघि बढेर अर्थ मन्त्रालय पुगेको उक्त फाइल लामो समयसम्म छलफलकै क्रममा रोकिरहेको थियो । अहिले भने अर्थ मन्त्रालयले बजेट सुनिश्चत गरेको गृह मन्त्रालयका एक अधिकारीले जानकारी दिए  ।


‘अर्थबाट बजेट सुनिश्चत भएर आइसकेको छ । अब निर्वाचन प्रहरी भर्ना प्रक्रिया अघि बढ्छ,’ मन्त्रालयका एक अधिकारीले अनलाइखबरसँग भने ।

ती अधिकारीका अनुसार नेपाल प्रहरीलाई निर्वाचन प्रहरीका लागि ७ अर्ब १३ करोड २५ लाख ८९ हजार रुपैयाँ बजेट सुनिश्चित गरिएको छ । यो निर्वाचन प्रहरी भर्नाका लागि मात्रै उपलब्ध भएको बजेट हो । यो बाहेक प्रहरीको नियमिततर्फ छुट्टै बजेट हुनेछ ।


त्यस्तै, सशस्त्र प्रहरीले भर्ना गर्ने निर्वाचन प्रहरीका लागि पनि बजेट सुनिश्चित भएको छ । सशस्त्र प्रहरीलाई ८० करोड ८४ लाख ५३ हजार बजेट सुनिश्चित गराइएको छ । बजेट सुनिश्चित भएसँगै अब दुवै प्रहरी संगठनले जतिसक्दो चाँडो निर्वाचन प्रहरी भर्ना प्रक्रिया अघि बढाउने छन् ।

नेपाल प्रहरीले १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी भर्ना गर्दा सशस्त्र प्रहरीले भने १५ हजार ११० जना भर्ना गर्न स्वीकृति पाएको हो ।

 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend