असोज २९ गते २०८३ || October 15, 2026

कांग्रेस, एमाले र नेकपा सहमति नजिक


सोमबार, पुस २१ २०८२१२:१०

कांग्रेस, एमाले र नेकपा सहमति नजिक

माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच तालमेल अन्तिम चरणमा पुगेको छ । जेनजी विद्रोहका कारण सत्ता गुमाएका कांग्रेस र एमालेले राष्ट्रिय सभा निर्वाचन, संसद् पुनर्स्थापना नभए फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा तालमेल र सहकार्य गर्ने विषयमा निरन्तर छलफलमा रहेका छन् ।

पछिल्लो समय नेपाली कम्युनिस्ट पार्टी समेत चुनावी तालमेल र सहकार्यको विषयमा सहभागी भएको स्रोतले बताएको छ । कांग्रेस उच्च स्रोतका अनुसार राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीलाई समेत सहभागी गराउने विषयमा लगभग सहमति नजिक पुगेको जानकारी दिएको छ । सोमबार साँझसम्म भागबन्डा टुङ्गो लगाउने गरी दोस्रो तहका नेताहरू सक्रिय भएको बुझिएको छ ।

‘राष्ट्रियसभा सदस्य निर्वाचनमा एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच चुनावी तालमेल गर्ने विषयमा सहमति नजिकिएको छ । आज साँझसम्म टुङ्गो लाग्ला । तीन दलबिच चुनावी तालमेल गर्ने विषयमा कार्यवाहक सभापतिजीले छलफल गरिरहनुभएको छ’, स्रोतले बतायो ।

रास्वपाका सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह र उर्जामन्त्री तथा उज्यालो नेपालका संरक्षक समेत रहेका कुलमान घिसिङ एकजुट भएपछि कांग्रेस, एमाले र नेकपा दबाबमा रहेका छन् । पछिल्लो विषम परिस्थितिलाई मध्यनजर गरी देउवा, ओली र प्रचण्ड नजिकिएका हुन् ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend