राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उज्यालो नेपाल पार्टीका अवधारणाकार कुलमान घिसिङका सम्बन्धमा पार्टीले अब औपचारिक निर्णय गर्ने बताउनु भएको छ।
बिहीबार चितवनमा पत्रकारहरूसँग कुरा गर्दै लामिछानेले कुलमानलाई पार्टीको उपसभापति बनाउने सहमतिलाई औपचारिकता दिने बताउनु भएको हो ।
‘कुलमानजीले बल्ल राजीनामा दिएर आउनुभएको छ । सहमतिलाई पार्टीले औपचारिकता दिने काम अब शुरू हुन्छ,’ लामिछानेले भन्नुभयो ।
समानुपातिकको बन्दसूची पेश गर्ने दिन रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकता भएको थियो । बुधवार मन्त्रीबाट राजीनामा गरेपछिको पत्रकार सम्मेलनमा घिसिङले रास्वपामा जाने/नजानेबारे स्पष्ट गर्नु भएको थिएन ।
उहाँले आफ्नो स्वाभिमान बिर्सेर राजनीति नगर्ने बताउनु भएको थियो । उज्यालो नेपालका उम्मेदवारले रास्वपाबाटै बन्दसूची पेश गरे पनि कुलमान रास्वपाको कार्यक्रममा सहभागी हुनुभएको छैन ।