असोज २९ गते २०८३ || October 15, 2026

विशेष महाधिवेशनले पार्टी फुटाउछ भन्नु भ्रम हो : गगन थापा


शुक्रबार, पुस २५ २०८२१२:०५

विशेष महाधिवेशनले पार्टी फुटाउछ  भन्नु भ्रम हो  : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनको मागलाई पार्टी विभाजनसँग जोडेर फैलाइएको भ्रम गलत भएको बताउनु भएको छ ।

पार्टी विधानअनुसारको अधिकार प्रयोग गरेर महाधिवेशन माग्नु कांग्रेस कमजोर बनाउने होइन, बरु पार्टीलाई नागरिकसँग पुनः जोड्ने प्रयास भएको उहाँको भनाइ छ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि बोल्दै महामन्त्री थापाले विशेष महाधिवेशनमा सहभागी नहुन नेताहरूलाई दबाब, फोन र चेतावनी दिइएको आरोप लगाउनु भयो ।

‘पार्टी फुट्छ भनेर साथीहरूलाई नआउनुस् भन्ने दबाब छ, निर्वाचन आउँदै छ भनेर डर देखाइँदै छ,’ उहाँले भन्नुभयो , ‘यो जिम्मेवार व्यवहार होइन ।’ महामन्त्री थापाले महामन्त्री विश्वप्रकाश शर्माले पार्टी नफुट्ने र फुट्न नदिने प्रतिबद्धता व्यक्त गरिसकेको स्मरण गराउँदै आफूहरूको उद्देश्य पार्टीभित्र विग्रह ल्याउने नभएको स्पष्ट पार्नु भयो  । ‘हामी कांग्रेस कमजोर बनाउन होइन, नागरिकसँग कांग्रेस जोड्न खोजिरहेका छौँ,’ उहाँले भन्नुभयो  । थापाले नियमित महाधिवेशनको कार्यतालिका घोषणा भएपछि विशेष महाधिवेशन आवश्यक छैन भन्ने कार्यवाहक सभापतिद्वारा वाचन गरिएको प्रस्तावलाई विधानको अपव्याख्या गरिएको बताउनु भयो ।

‘विधानले ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरे विशेष महाधिवेशनको अधिकार दिएको छ,’ उहाँले भन्नुभयो , ‘यसलाई विभाजनतर्फ लैजान्छ भन्ने हौवा फैलाइएको छ, तर विधानको कार्यान्वयन विभाजन होइन ।’

उहाँले  भदौ २३ र २४ गते भएका घटनापछि देशको राजनीतिक अवस्था गम्भीर रूपमा बद्लिएको उल्लेख गर्दै त्यसको समीक्षा, आत्ममूल्यांकन र नेतृत्व–नीति सुधारका लागि विशेष महाधिवेशन अपरिहार्य भएको बताउनु भयो । ‘भदौ २२ अघि र भदौ २५ पछिको नेपाल एउटै छैन,’ उहाँले भन्नुभयो , ‘नागरिक असन्तुष्टि किन भयो, हाम्रो भूमिका के रह्यो, कहाँ चुक्यौँ, यो छलफल नगरी अघि बढ्न सकिँदैन ।’

महामन्त्री थापाले विशेष महाधिवेशनमा सहभागी महाधिवेशन प्रतिनिधिहरू पार्टीविरोधी नभई विधानले दिएको अधिकार प्रयोग गरिरहेका पार्टीका जिम्मेवार सदस्य भएको बताउनु भयो । ‘पार्टी टुट्नु भनेको औपचारिक विभाजन होइन, कार्यकर्ताको मन टुट्नु हो,’उहाँले भन्नुभयो  , ‘संवाद गरेर, सुनेर अघि बढे पार्टी एकताबद्ध रहन्छ ।

२७ र २८ गते आयोजना हुन लागेको विशेष महाधिवेशन विधानसम्मत भएको दाबी गर्दै थापाले पार्टी सभापतिलाई त्यसमा सहभागी हुन आग्रह गर्नु भयो  । ‘सभापति सहभागी हुनुभयो भने पार्टीको मान बढ्छ र सहमतिका ढोका खुल्छ,’ उहाँले भन्नुभयो  ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend