असोज २९ गते २०८३ || October 15, 2026

गण्डकीमा कांग्रेस–एमालेसँग दुईतिहाइ मतभार


आइतबार, माघ ११ २०८२१२:२७

गण्डकीमा कांग्रेस–एमालेसँग दुईतिहाइ मतभार

 राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत दुई पदका निम्ति गण्डकी प्रदेशमा मतदान जारी छ । आइतबार (माघ ११) बिहानदेखि सुरु मतदान दिउँसो ३ बजेसम्म जारी रहनेछ ।

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पहिलो मतदान गर्नु भयो  । यहाँ चार दलका तर्फबाट ६ जनाले उमेदवारी दिनु भएको छ ।

गण्डकीमा अन्य क्लस्टरबाट जितेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नारायणकाजी श्रेष्ठ र महिलातर्फ निर्वाचित नेकपा (एमाले)की भगवती न्यौपानेको कार्यकाल आउँदो फागुन २० गतेदेखि सकिँदै छ ।

गण्डकीमा नेपाली कांग्रेस र एमालेले गठबन्धन गरी एक/एक पद लिएका छन् । नेकपा र राष्ट्रिय जनमोर्चाले दुवै क्लस्टरमा उमेदवारी दर्ता गराएका छन् ।

कांग्रेसका प्रा. डा. जगत तिमिल्सिनाले अन्य क्लस्टरमा उमेदवारी दिनु भएको छ  । महिलातर्फ एमालेकी सम्झना देवकोटा उमेदवार बन्नु भएको छ  ।

नेकपाले अन्यतर्फ कपिल लामा र महिला क्लस्टरमा माओवादी द्वन्द्वका क्रममा एउटा खुट्टा गुमाएकी गोमा घिमिरेलाई उमेदवार बनाएको छ ।

जनमोर्चाका तर्फबाट शंकरप्रसाद बराल र लक्ष्मी बाँस्कोटा उमेदवार हुनुहुन्छ । अन्यतर्फ उमेदवारी दिएका बराल जनमोर्चाका प्रदेश अध्यक्ष हुन्हुन्छ । महिलातर्फकी उमेदवार बाँस्कोटा अखिल नेपाल महिला संघकी केन्द्रीय उपाध्यक्ष हुन्हुन्छ ।

स्थानीय तहका अध्यक्ष/उपाध्यक्ष, प्रमुख/उपप्रमुख र प्रदेशसभा सदस्य मतदाता रहने यो निर्वाचनमा कांग्रेस–एमालेका उमेदवारले जित्ने निश्चितजस्तै देखिन्छ ।

राष्ट्रियसभा निर्वाचनका मतदातामध्ये स्थानीय तहका प्रत्येक जनप्रतिनिधिको मतभार १९ हुन्छ । प्रदेशसभा सदस्यको मतभार ५३ हुने व्यवस्था छ । गण्डकीमा ८५ पालिकाका १७० जनप्रतिनिधि र प्रदेशसभाका ५९ सदस्य मतदाता हुन्हुन्छ । दीपक मनाङे भने थुनामा पर्नु भएको छ  ।

गण्डकीको कुल मतभार ६ हजार ३५७ हुन आउँछ । कांग्रेस–एमालेका मतदाताको मतभार पाँच हजार १७९ छ । यो कुल मतभारको ८१ प्रतिशतभन्दा बढी हो ।

गण्डकी प्रदेशमा कांग्रेसका २७ सांसद हुन्हुन्छ। उहाँहरूको मतभार एक हजार ४३१ हुन्छ । स्थानीय तहका प्रमुख, उपप्रमुखमध्ये कांग्रेसबाट ६६ जना निर्वाचित हुनु भएको छ  । उहाँहरूको मतभार एक हजार २५२ पुग्छ ।

गण्डकी प्रदेशसभामा २२ सांसद रहेका एमालेको मतभार एक हजार १६६ छ । ७० जना स्थानीय तहका जनप्रतिनिधिको मतभार एक हजार ३३० हुन्छ ।

गण्डकीमा नेकपाका सात सांसद र ३० स्थानीय तहका जनप्रतिनिधि हुन्हुन्छ ।उहाँहरूको मतभार ९४१ हुन्छ ।

राष्ट्रिय जनमोर्चासँग ७६ मतभार छ । जनमोर्चाले स्थानीय तहमा चार पद जितेको थियो ।

यहाँ राप्रपासँग १०६ मतभार छ । प्रदेशसभामा राप्रपाका दुई सांसद हुनुहुन्छ। प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का पनि एक सांसद हुनुहुन्छ । उक्त दलको मतभार ५३ हुन्छ 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend