नेपाली कांग्रेसले फागुन २१ गतेको निर्वाचनलाई व्यवस्थित बनाउन कम्तीमा १२ समिति बनाउन मातहतका पार्टी निकायलाई निर्देशन दिएको छ । निर्वाचन परिचालन समितिका संयोजक उपसभापति विश्वप्रकाश शर्माले बुधवार परिपत्र जारी गर्दै प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति र प्रतिनिधिसभा क्षेत्र कार्यसमितिका सभापतिलाई यस्तो निर्देशन दिनु भएको हो ।
शर्माले ‘विजय अभियान व्यवस्थित बनाउन निम्नानुसारका समिति र संरचना सबै तहमा अविलम्ब गठन गर्नु/गराउनु हुन,’ शीर्षकमा जारी गरेको परिपत्रमा आमनिर्वाचनमा पार्टी पंक्तिलाई व्यवस्थित रूपले परिचालित गर्न ती समिति गठन गर्न निर्देशन दिनु भएको हो ।
‘समिति कैयन ठाउँमा गठन भइसकेका छन् जहाँ गठन भएको छैन त्यहाँ निम्नानुसारका समिति अविलम्ब गठन गर्न गराउन आग्रह सहित यो परिपत्र पठाइएको छ,’ शर्माले परिपत्रमा भन्नु भएको छ ।
परिपत्र अनुसार निर्वाचन व्यवस्थापन सचिवालय, निर्वाचन परिचालन मूल समिति, निर्वाचन प्रचार प्रसार मूल समिति, स्थानीय तह समन्वय समिति, बौद्धिक क्षेत्र समन्वय समिति, सामाजिक सङ्घ–संस्था समन्वय समिति, धार्मिक सङ्घ–संस्था समन्वय समिति, निजी क्षेत्र समन्वय समिति, १८/३० विशेष अभियान, पूर्वआप्रवासी समन्वय समिति, स्थानीय प्रशासन समन्वय समिति र अनुगमन समिति गठन गर्नुपर्नेछ ।
ती बाहेक निर्वाचन परिचाल समिति र प्रचार प्रसार समिति अन्तर्गत उपसमिति गठन गर्नुपर्ने पनि परिपत्रमा उल्लेख गरिएको छ ।