संघीय संसद्का दुवै सदनको पहिलो बैठक आज दिउँसो २ बजे बस्दैछ। प्रतिनिधिसभा निर्वाचनपछि संघीय संसद्को पहिलो अधिवेशन आजदेखि सुरु हुन लागेको हो।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन आह्वान गरेका हुन्। प्रतिनिधिसभाको पहिलो बैठकको सुरुमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र वाचन गर्नेछन्। त्यसपछि राष्ट्रपति पौडेलले प्रधानमन्त्रीमा वालेन्द्र शाहलाई नियुक्त गरेको जानकारी सदनलाई गराइनेछ। शाह नेतृत्वको मन्त्रिपरिषद्का सदस्यहरूको विवरण पनि प्रस्तुत गरिनेछ।
त्यसपश्चात्, सभामुखको भूमिकामा रहेका केसीले प्रतिनिधिसभाले नयाँ नियमावली नबनाएसम्म प्रतिनिधिसभा नियमावली, २०७९ अनुसार कामकारबाही सञ्चालन गर्ने प्रस्ताव स्वीकृतिका लागि सदनमा पेश गर्ने कार्यसूची छ।
अधिवेशन आरम्भको अवसरमा राजनीतिक दलका नेताहरूले मन्तव्य राख्ने कार्यक्रम रहेको छ, जसलाई प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने ६ राजनीतिक दलको बैठकले तय गरेको हो। बुधबार सम्पन्न सर्वदलीय बैठकले सभामुख निर्वाचनको मिति पनि निर्धारण गरेको छ। सोअनुसार आगामी आइतबार सभामुखको निर्वाचन हुनेछ।
२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाका १ सय ८२ सांसद रहेका छन्। त्यसैगरी, कांग्रेसका ३८, एमालेका २५, नेकपाका १७, श्रम संस्कृति पार्टीका ७ र राप्रपाका ५ सांसद छन्। प्रतिनिधिसभामा महावीर पुन एक्ला स्वतन्त्र सांसदका रूपमा रहेका छन्।
यसैबीच, राष्ट्रिय सभा पहिलो पटक सत्तापक्षविहीन बनेको छ। प्रतिनिधिसभामा करिब दुईतिहाइ सिट जितेर सरकार गठन गरेको रास्वपाको राष्ट्रिय सभामा प्रतिनिधित्व छैन। बुधबार बसेको राष्ट्रिय सभा कार्य व्यवस्था परामर्श समितिको बैठकमा सत्तापक्ष नभएको अवस्थामा सिट व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा छलफल भएको थियो।
सहमति अनुसार, राष्ट्रिय सभा उपाध्यक्ष बस्ने लहरमा मन्त्रीहरू बस्नेछन् भने बाँकी लहरमा दलीय हैसियतअनुसार सिट व्यवस्थापन गरिनेछ। राष्ट्रिय सभामा कांग्रेसका २४, नेकपाका १७, एमालेका १०, जसपा नेपालका ३ (महन्थ ठाकुरसहित), जनमोर्चाका १ र राष्ट्रपतिबाट मनोनीत २ सदस्य (अध्यक्षसहित) रहेका छन्। राष्ट्रपतिबाट मनोनीत हुने एक सिट अझै रिक्त रहेको छ।