सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले नै गृहमन्त्री सुधन गुरुङ को कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्।
सोमबार सिंहदरबारमा प्रधानमन्त्री बालेन्द्र शाह सँग भएको छलफलका क्रममा काभ्रे–१ का सांसद मधुकुमार चौलागाईं र धादिङ–१ की सांसद आशिका तामाङ ले गृहमन्त्रीले जिल्लामा जाँदा समन्वय नगरेको भन्दै आपत्ति जनाएका हुन्।
प्रधानमन्त्री शाहले वाग्मती प्रदेशका सांसदहरूसँग गरेको उक्त छलफलमा सहभागी सांसदहरूले गृहमन्त्रीको कार्यशैलीमाथि गुनासो राखेका थिए।
एक स्रोतका अनुसार, सांसदहरूले भने,“गृहमन्त्री जिल्लामा जाँदा हामी (सांसदहरू) सँग समन्वय गर्नुभएन । त्यसले गर्दा हामीले आफ्ना समस्या भन्न पाएनौँ । उहाँ सडक–सडक हिँड्नुभयो । सडकमा हिँडेर भित्री कुरा कसरी थाहा हुन्छ ? यसरी भएन । मन्त्रीले समन्वय गर्नुपर्यो ।”
सांसदहरूले गृहमन्त्रीसँग स्वकीय सचिव भए पनि आफूहरूसँग समेत समन्वय नभएको गुनासो प्रधानमन्त्रीसमक्ष राखेका थिए। साथै, उनीहरूले सांसदहरूलाई पनि स्वकीय सचिव उपलब्ध गराउनुपर्ने माग गरेका थिए।
यसअघि गृहमन्त्री गुरुङ काभ्रेको रोशी खोलामा पुगेर क्रसर र ढुंगाखानी सञ्चालन बन्द गराउन निर्देशन दिएका थिए। २०८१ असोजमा आएको बाढीले प्रभावित क्षेत्रको निरीक्षणका क्रममा उनी त्यहाँ पुगेका थिए। साथै, उनले चितवनको पनि भ्रमण गरेका थिए।
सांसदहरूले उठाएको गुनासोबारे प्रधानमन्त्री शाहले भने कुनै ठोस प्रतिक्रिया नदिएको एक सांसदले जानकारी दिएका छन्। उनका अनुसार प्रधानमन्त्रीले करिब दुई मिनेट मात्र बोलेका थिए।