नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी विवादमा बिहीबार सर्वोच्च अदालतमा पेसी तोकिएको छ। यसअघि पनि यो मुद्दा पेशीमा चढे पनि पालो नआउँदा सरेको थियो। आज न्यायाधीशद्वय सारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासमा सुनुवाइका लागि पेसी परेको हो।
विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको समितिलाई निर्वाचन आयोगले मान्यता दिएपछि शेरबहादुर देउवा पक्ष अदालत पुगेको हो। तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा तथा निर्वाचन आयोगलाई विपक्षी बनाउँदै रिट दायर गरेका थिए।
खड्काले अदालतको निर्णयपछि मात्रै आफ्नो आगामी रणनीति तय गर्ने बताएका छन्। यता, समानान्तर गतिविधि गर्दै आफूलाई कार्यवाहक सभापति उल्लेख गर्न थालेपछि कांग्रेसको अनुशासन समितिले उनलाई स्पष्टीकरण सोधेको छ।