काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीबीच आज बिहान भेटवार्ता भएको छ। भेटमा सहरी सुरक्षा, सडक सुरक्षा र समग्र सहरी व्यवस्थापनमा दुई निकायबीच सहकार्य कसरी प्रभावकारी बनाउने भन्ने विषयमा विस्तृत छलफल भएको हो।
छलफलका क्रममा डंगोलले ट्राफिक व्यवस्थापन सुदृढीकरण, अतिक्रमित सार्वजनिक जग्गा संरक्षण, अव्यवस्थित बसोबास व्यवस्थापन र “सडक मानवमुक्त काठमाडौं” अभियानलाई सफल बनाउन नेपाल प्रहरीसँग नजिकको सहकार्य आवश्यक रहेको बताइन्। महानगर प्रहरी बललाई नेपाल प्रहरीको सहयोगले थप प्रभावकारी बनाउने उनको भनाइ थियो।
प्रहरी महानिरीक्षक कार्कीले महानगरपालिकालाई आवश्यक पर्ने सहयोग उपलब्ध गराउन आफूहरू तयार रहेको बताए। उपत्यका प्रहरी कार्यालयमार्फत समन्वय गर्ने र त्यसका लागि फोकल पर्सनसमेत तोकिएको जानकारी उनले दिए। साथै, सचेतनामूलक कार्यक्रम, नागरिक सहभागिता र प्रविधिको प्रयोगमार्फत कम जनशक्तिमा बढी परिणाम हासिल गर्ने प्रणाली विकासमा जोड दिएका छन्।
भेटवार्तामा लागूऔषध दुव्र्यसन नियन्त्रण, सार्वजनिक स्थलमा धुम्रपान तथा मद्यपान नियन्त्रण, पार्किङ व्यवस्थापन, सडक संकेत र ट्राफिक प्रणाली सुधार, रात्रि तथा विहानी बस सेवाको सुरक्षा तथा सडक मानवमुक्त अभियानमा प्रहरीको भूमिका लगायत विषयमा पनि छलफल भएको थियो।
छलफलमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं, महानगरका अन्य अधिकारीहरू तथा मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीसहित प्रतिनिधिहरूको सहभागिता रहेको थियो।