सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई आफ्ना संसदीय दलका पदाधिकारीहरू छिट्टै नियुक्त गर्न सुझाव दिएका छन्।
सोमबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा आयोजित छलफलमा विभिन्न दलका प्रमुख सचेतकहरूसँग कुराकानी गर्दै उनले संसद्को काम कारबाही प्रभावकारी बनाउन पदाधिकारीहरूको पदपूर्ति आवश्यक रहेको बताए।
बैठकमा सहभागी नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाका अनुसार यो प्रमुख सचेतकहरूसँग सभामुखको पहिलो औपचारिक बैठक थियो। उक्त भेटमा सदन सञ्चालनलाई सहज बनाउने विषयमा छलफल हुनुका साथै आवश्यक पदहरू छिटो पूरा गर्न आग्रह गरिएको उनले बताइन्।
सभामुख अर्यालले विशेषगरी सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीलगायत केही दलले अझै पदाधिकारीहरूको विवरण संसद् सचिवालयमा नबुझाएको उल्लेख गर्दै ती विवरण यथाशीघ्र उपलब्ध गराउन आग्रह गरेका थिए।
बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट सचेतक क्रान्तिशिखा धिताल र प्रकाशचन्द्र परियार, नेपाली कांग्रेसबाट प्रमुख सचेतक थापा, नेकपा एमालेबाट सचेतक निता घतानी, नेकपाबाट प्रमुख सचेतक युवराज दुलाल तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रमुख सचेतक खुस्बु ओली सहभागी थिए।
तर, श्रम संस्कृति पार्टीका तर्फबाट भने कुनै प्रतिनिधि बैठकमा उपस्थित भएनन्। सङ्घीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराज गिरीका अनुसार उक्त पार्टीलाई टेलिफोनमार्फत जानकारी गराए पनि उनीहरू बैठकमा सहभागी भएनन्।