सशस्त्र प्रहरी बलका नवनियुक्त आईजीपी नारायणदत्त पौडेलले खुला सीमा र अन्तरदेशीय अपराध रोकथाम बढ्दो चुनौती बनेको बताएका छन् ।
सोमबार गृहसचिव राजकुमार श्रेष्ठले आईजीपी पौडेललाई दर्ज्यानी चिह्न प्रदान गरेका थिए । सोही अवसरमा बोल्दै आईजीपी पौडेलले सीमा क्षेत्रमा हुने अपराध तथा अन्तरदेशीय अपराध नियन्त्रण नै आफ्नो प्रमुख प्राथमिकता रहने प्रतिबद्धता जनाए ।
उनले आईजीपीको पद संगठनको नेतृत्व गर्ने औपचारिक जिम्मेवारी मात्र नभई नेपालको राष्ट्रिय सुरक्षा, सीमा सुरक्षा, शान्ति तथा सुशासन कायम गर्दै नागरिकको जीउधन सुरक्षा गर्ने महत्वपूर्ण दायित्व भएको बताए । यस दायित्वप्रति आफू पूर्ण रूपमा समर्पित रहने उनको भनाइ थियो ।
गृहसचिव श्रेष्ठले संगठनभित्र पेशागत दक्षता र क्षमता अभिवृद्धि गर्दै सरुवा तथा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन अग्रसर रहन आईजीपी पौडेललाई निर्देशन दिएका थिए ।
सरकारले वैशाख १४ गते पौडेललाई सशस्त्र प्रहरी बलको आईजीपीमा नियुक्त गरेको थियो । आईजीपी राजु अर्यालको चार वर्षे कार्यकाल पूरा भएपछि पौडेलले नेतृत्व सम्हालेका हुन् ।
हालको कानुनी व्यवस्थाअनुसार पौडेलले २२ महिनासम्म संगठनको नेतृत्व गर्नेछन् ।