उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि नर्वेकी राजदूत ड्याग्नी मियोसले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गरेकी छन् । भेटका क्रममा नेपाल–नर्वेबीचको द्विपक्षीय सम्बन्धका विविध पक्षमा छलफल भएको थियो ।
उपराष्ट्रपति यादवले नर्वे नेपालका लागि एक घनिष्ट मित्रराष्ट्र भएको उल्लेख गर्दै सन् १९७३ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता दुवै देशबीच मैत्रीपूर्ण र सौहार्दपूर्ण सम्बन्ध कायम रहेको बताए । उनले लोकतन्त्र, मानवअधिकार र सामाजिक न्यायलाई दुवै देशका साझा मूल्यका रूपमा उल्लेख गर्दै विकास साझेदारका रूपमा नर्वेसँगको सम्बन्धलाई नेपालले उच्च प्राथमिकता दिएको बताए ।
उनले नर्वेले राष्ट्रसंघीय शान्ति स्थापना, जलवायु परिवर्तनलगायत बहुपक्षीय मञ्चहरूमा निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा दुई देशबीचको सम्बन्धले नयाँ आयाम हासिल गर्ने अपेक्षा व्यक्त गरे ।
त्यसैगरी, राजदूत मियोसले नेपाल र नर्वे दुवै मुलुकको संविधानमा लोकतन्त्र, मानवअधिकार र सामाजिक न्यायजस्ता साझा मूल्य समेटिएको उल्लेख गर्दै शिक्षा, ऊर्जा, सुशासन, मानवअधिकार र सामाजिक न्यायका क्षेत्रमा सहकार्य विस्तार गर्न सकिने बताइन् । उनले नेपाल सरकारले अघि सारेको १०० बुँदे प्रतिबद्धतापत्रमा समेटिएका विषयहरूमा नर्वे सहकार्य गर्न तयार रहेको समेत स्पष्ट गरिन् ।