असोज २९ गते २०८३ || October 15, 2026

प्रधानन्यायाधीश नियुक्तिमा ‘जालझेल’को आरोप, गगन थापाद्वारा सरकारको कडा आलोचना


बुधबार, वैशाख २३ २०८३०४:५५

प्रधानन्यायाधीश नियुक्तिमा ‘जालझेल’को आरोप, गगन थापाद्वारा सरकारको कडा आलोचना

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आफ्नो निकट व्यक्तिलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीश बनाउन विभिन्न जालझेल गरिरहेको आरोप लगाएका छन् ।

बुधबार पार्टी संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै थापाले प्रधानमन्त्री शाहले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर आफूअनुकूल नियुक्ति प्रक्रिया अघि बढाउन खोजेको दाबी गरे ।

उनले संसद्को अधिवेशन आह्वान गर्ने र बन्द गर्ने कार्यलाई पनि सोही उद्देश्यसँग जोडिएको ‘प्रपञ्च’ को रूपमा व्याख्या गरे । थापाका अनुसार संवैधानिक परिषद्माथि नियन्त्रण कायम गर्न अध्यादेशमार्फत कानुनी संशोधन गरिएको हो, जुन लोकतान्त्रिक मूल्य–मान्यताविपरीत भएको उनको भनाइ छ ।

प्रधानमन्त्रीले आफ्नो इच्छाअनुसार प्रधानन्यायाधीश नियुक्त गर्ने प्रयास स्वीकार्य नहुने स्पष्ट पार्दै उनले नेपाली कांग्रेसले यस विषयमा कडा असहमति जनाउने बताए ।

यस्तो छ गगन थापाको भनाइ :

“भोलि संवैधानिक परिषद्को बैठक बोलाइएको छ ५ बजे । प्रधानन्यायाधीश कसलाई बनाउने भन्नेबारेमा राष्ट्रिय स्वतन्त्र पार्टीले एउटा सोच बनाएको छ । त्यो प्रधानन्यायाधीश बनाउने पात्र प्रस्तुत गर्छु, त्यसका लागि तर्क प्रस्तुत गर्छ । यसको आधारमा संवैधानिक परिषद्‌बाट यसको निर्णय गराउँछु भनेर होइन । मैले प्रस्तुत गरेको प्रस्ताव म पारित गराउँछु भनेर कस्तो जालझेल गरिएको छ भने प्रधानमन्त्री हुनुहुन्छ, सभामुख हुनुहुन्छ । र भोलि कानुनमन्त्री आउनुहुन्छ । उहाँ आइसकेपछि तीनजनाले पारित गरेको कुरा बहुमत हुन्छ भनेर यो प्रधानन्यायाधीश कसलाई बनाउने ? आफूले खल्तीबाट झिकेको नामलाई प्रधानन्यायाधीश बनाउने । जसलाई मन लाग्यो, त्यसलाई बनाउने । त्यहाँभित्र अमङ द उमेदवार । यो कुरा सोचेर यसरी त्यो संवैधानिक परिषद्लाई आफ्नो नियन्त्रण राख्नका लागि यस्तो ठूलो संसद आह्वान गर्ने, संसद बन्द गर्ने सबै प्रपञ्च रचिएको छ । अगाडिको प्रधानमन्त्रीले ठ्याक्कै यही गर्नुभयो । त्यो बेला हामीले रोक्यौँ । अब अहिले हामीले रोक्न सकेनौँ । किनकी यो अध्यादेश बनेर गयो । तर, अगाडिको प्रधानमन्त्रीले आफ्नो मान्छे ल्याउनका लागि गरिएको त्यो भन्दा के फरक भयो र यो ? यो भन्दा अगाडिको प्रधानमन्त्रीले आफ्नो मान्छे नियुक्तिका लागि पूरै जालझेल गर्नुभयो । अहिलेको प्रधानमन्त्रीले पनि त्यही जालझेल गर्दै हुनहुन्छ । यो आपत्तिजनक छ । यसमा नेपाली कांग्रेस पार्टीको प्रश्न छ । यसमा हाम्रो असहमति छ । यो कुरा हामीले यहाँ राखेका छौँ । यो कुरा हाम्रा साथीहरूले संसदमा राख्नु हुन्छ ।”

 
 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend