असोज २९ गते २०८३ || October 15, 2026

युट्युबमा ‘पंचायत’, नीताको अभिनयको तारिफ


पिपल अनलाइन
सोमबार, पुस १८ २०७९०१:०४

युट्युबमा ‘पंचायत’, नीताको अभिनयको तारिफ

काठमाण्डौँ - २०७४ सालमा हलमा प्रदर्शन भएको शिवम् अधिकारी निर्देशित फिल्म ‘पंचायत’ पाँच वर्षपछि युट्युबमा निःशुल्क उपलब्ध भएको छ । पुष १३ गते नेपालफ्लिक्स युट्युब च्यानलमा सार्वजनिक भएको फिल्मले आकर्षक भ्यूजसहित लोभलाग्दो प्रतिक्रिया पाइरहेको छ । युट्युब रिलिजको पाँच दिनसम्ममा ७ लाख बढी भ्यूजसहित यतिबेला फिल्म नेपालको युट्युब ट्रेन्डिङको चौंथो स्थानमा छ ।

संसारकै प्रतिष्ठित ओस्कार अवार्डका लागि नेपालबाट सिफारिस समेत भएको यो फिल्म युट्युबमा हेरेपछि प्रायःले प्रशंसामा शब्द खर्चिएका छन् । धेरैले कथावस्तु र कलाकारहरु नीता ढुंगाना, सरोज खनाल, जाह्न्वी बस्नेतको अभिनयको खुलेर तारिफ गरेका छन् । पञ्चायतकाल ताका एउटा गाउँमा भएको न्याय प्रणाली, समाजिक व्यवस्था, छाउपडी प्रथालाई फिल्मले उठान गरेको छ ।

फिल्ममा गीता अधिकारी, गणेश गिरी, विशाल पहारी,किरण थापा, राजुबाबु श्रेष्ठ ,रवि अधिकारी, सुचित्रा उप्रेती, अश्विनी कोइराला, प्रकृति ढुंगेललगायतको पनि अभिनय छ । संचारकर्मी रवि अधिकारी कार्यकारी निर्माता रहेको फिल्मका प्रस्तुतकर्ता गणेश गिरी, निर्माता शुशान्त श्रेष्ठ र शंकर सुवेदी हुन् । फिल्मको लेखन निर्देशक शिवम् स्वयंको हो । रामेश्वर कार्कीले फिल्मलाई खिचेका हुन् ।

२०७४ सालमा अमेरिकाको क्यालिफोर्निया राज्यको सन फ्रान्सिस्कोमा आयोजित ‘सन फ्रान्सिस्को फिल्म फेस्टिभल’मा ‘पंचायत’ले विदेशी भाषातर्फ उत्कृष्ट फिल्मको अवार्ड जित्नुका साथै नीता ढुंगानाले ‘उत्कृष्ट मुख्य अभिनेत्री’को अवार्ड समेत जित्न सफल भएकी थिइन् । त्यस्तै, चलचित्र विकास बोर्डले नगद २ लाख पुरस्कार राशीसहित फिल्मलाई ‘विशेष चलचित्र’ समेत घोषित गरेको थियो ।


  • सम्बन्धित विषय:

  • # युट्युबमा ‘पंचायत’, नीताको अभिनयको तारिफ
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend