अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा छिट्टै लगानी शिखर सम्मेलन गर्ने घोषणा गर्नुभएको छ । शुक्रबार सिंहदरबारमा आयोजित लगानी बोर्डको १२ औं वार्षिकोत्सवको अवसर पारेर उहाँले सो घोषणा गर्नुभएको हो ।
अर्थमन्त्री महतले विश्व बजारमा सूचना प्रविधिको क्षेत्रमा स्थापित कर्पोरेट कम्पनीहरुको लगानी नेपालमा भित्र्याउने गरी सो शिखर सम्मेलन आयोजना गर्ने लागिएको पनि जानकारी दिनुभयो । त्यस अवसरमा उहाँले नेपालमा आर्थिक वृद्धि गराउने राम्रा सङ्केतहरु देखिएको उल्लेख गर्नुहुँदै त्यसले मुलुकको आर्थिक गतिविधिले बढावा पाउने विश्वास व्यक्त गर्नुभयो
अर्थमन्त्री महतले भन्नुभयो, ‘‘नेपालमा लगानी गर्ने र त्यसको बजार विदेशमा समेत प्राप्त गर्ने सम्भावना त्यसले दिएको छ । त्यस्तै गरेर अहिले आईटी सेक्टर यो बृहत् सम्भावनाको क्षेत्र छ । त्यसमा मुख्य लगानीकर्तालाई विदेशमा जुन स्थापित आईटी सेक्टरका कम्पनीहरु छन् । तिनीहरुलाई हामीले ल्याउन सक्नुपर्दछ । हामी चाँडै अब एउटा लगानी समिट पनि नेपालमा गर्छौं । त्यसका लागि तत्कालै हामी यथेष्ट गृहकार्य पनि सुरु गर्छाैं । बजेटमा पनि हामीले बोलेका छौं ।’’
नेपालमा पर्यटन, कृषि, जलविद्युत् र सूचना प्रविधिको क्षेत्रमा लगानी बढने र बजारको पनि राम्रो व्यवस्था भएकाले यस क्षेत्रमा बाह्य लगानी भित्रिने अर्थमन्त्री महतले बताउनुभयो । उहाँले भारतमा १० हजार मेगावाट विद्युत् १० वर्षमा खरिद गर्ने सम्झौता भएको र चीनमा पनि सरकारले सोही खालको सम्झौतालाई अब छिट्टै अघि बढाउने बताउनुभयो ।