विभागीय टोलीको नेपाल पुलिस क्लब नवौँ एनभिए कप च्याम्पियनसिपको महिलातर्फ सेमिफाइनलमा प्रवेश भएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद कभर्डहलमा मङ्गलबार भएको विभागीय डर्बीमा पुलिसले एपिएफ क्लबलाई ३–२ को सेटमा स्तब्ध बनायो ।
प्रतिस्पर्धात्मक खेलको सुरुवाती दसई सेट पुलिसले २५–२१, २५–१५ ले आफ्नो पक्षमा पारेको थियो । त्यसपछि एपिएफले उत्कृष्ट पुनरागमन गर्दै २५–२२, २५–२१ को नतिजा निकाल्यो । निर्णायक तथा अन्तिम सेटमा पुलिसले १५–९ को जित हात पारेको हो ।
यसैगरी मङ्गलबार नै भएको पुरुषतर्फको खेलमा खिल्जी युवा क्लब ढोरपाटन स्पोर्टसलाई ३–० को सोझो सेटमा हराउँदै क्वार्टरफाइनलमा प्रवेश भएको छ ।
खिल्जीले ढोरपाटनमाथि २५–१५, २५–१९, २५–२३ को जित निकालेको हो । क्वार्टरफाइनलमा खिल्जीले विभागीय टोली आर्मीसँग भिड्ने छ । ढोरपाटन प्रतियोगिताबाट बाहिरिएको छ ।
नेपाल भलिबल सङ्घको आयोजनामा सञ्चालित प्रतियोगिता पुस १९ गतेसम्म चल्ने छ । प्रतियोगितामा पुरुषतर्फ १२ र महिलातर्फ आठ टोली सहभागी भएका छन् ।