असोज ३० गते २०८३ || October 16, 2026

‘वर्डफ्लु’ पीडित किसान भन्दछन्ः अझै राहत पाइएन


पिपल अनलाइन
मंगलबार, माघ १० २०७९०१:२९

‘वर्डफ्लु’ पीडित किसान भन्दछन्ः अझै राहत पाइएन

 चितवन - गत वैशाखमा कुखुरामा बर्डफ्लु देखिएपछि पूर्वी चितवनको ज्यामीरेका व्यवसायी अर्जुन अर्यालको खोरमा रहेका कुखुरा, अण्डा, दाना, क्रेट र औषधि सबै नष्ट गरियो ।  खोरका बिभिन्न उमेरका एक लाख १४ हजार छ सय ८८ कुखुरा, एक लाख ३० हजार गोटा अण्डा, १३ हजार पाँच सय किलो दाना, ५२ हजार क्रेटसँगै औषधिलगायतका सामग्रीलाई सरकारी निकायबाट नष्ट गरिएको थियो ।  

सरकारले विगतमा झै राहत दिने आशामा अर्यालले केही महिना खोर खाली गरेर कुखुराका चल्ला राखे । उनको हिसाबमा सरकारले राहतवापत रु आठ करोड हाराहारी दिनुपर्ने हुन्छ । त्यहीअनुसार खोरमा उनले एक लाख २२ हजार कुखुरा राखे । केही ऋण बैंकले थप्यो । केही सरसापट चलाउँदै अघि बढे । अझैसम्म पनि राहत रकम नआएपछि बैंक र तिर्नुपर्ने ठाउँको दबाब थेग्न नसक्ने भएको छ । कुखुरा बचाउनका लागि हारगुहार गरेर ल्याइएका दाना, औषधिलगायतको रकम तिर्न उनले सक्नुभएको छैन । उनले भने ,“मजदुर, बिजुली, पानी आदिका खर्च धान्न मुस्किल हुँदै गएको छ ।”

विस्थापनको अवस्थामा पुग्नुभएका व्यवसायी अर्यालले पेसा जोगाउनका लागि गरेको मेहेनतमा सरकारले सहयोग नगरेको उनको गुनासो छ । उनले भने, “राज्यले हामीलाई नहेर्दा हामी निकै पीडित बन्न पुगेका छौँ ।” बर्डफ्लुका कारण सबैभन्दा बढी लेयर्सपालक कृषक प्रभावित बनेका छन् । 

नेपाल लेयर्स कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोख्रेल सरकारले तत्काल राहत नदिए ती कृषकहरू विस्थापित हुने अवस्थामा पुगेको बताउँछन् । उनले भने, “कयौँ कृषकको खोर खाली छ । बैंकमा ऋण तिर्न नसक्दा कालोसूचीमा निस्कने अवस्थामा पुगेको छ ।” खोरमा कुखुरा राखेकाहरूले पनि बचाउन नसक्ने अवस्थामा पुगेको उनको भनाइ छ । बर्डफ्लुबाट धेरै लेयर्स कुखुरापालक कृषक प्रभावित भएको जनाउँदै उनले यो व्यवसाय बचाउनका लागि तत्काल सरकारको ध्यान जानुपर्ने बताए ।


  • सम्बन्धित विषय:

  • # ‘वर्डफ्लु’ पीडित किसान भन्दछन्ः अझै राहत पाइएन
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend