असोज २९ गते २०८३ || October 15, 2026

घ्याङलेख गाउँपालिकामा चम्कियो मा.वि. मरिण हायुटार, दुई छात्रा शिर्ष स्थानमा


मंगलबार, वैशाख २९ २०८३१२:४२

घ्याङलेख गाउँपालिकामा चम्कियो मा.वि. मरिण हायुटार, दुई छात्रा शिर्ष स्थानमा
 

सिन्धुली — माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजामा मरिण हायुटार माध्यमिक विद्यालय ले उत्कृष्ट सफलता हासिल गरेको छ। विद्यालयकी छात्रा करुणा मगरले ३.७७ जीपीए प्राप्त गर्दै घ्याङलेख गाउँपालिका मा प्रथम स्थान हासिल गरेकी छिन्। त्यस्तै, सोही विद्यालयकी छात्रा सोविना थोकरले ३.७३ जीपीए ल्याउँदै पालिकास्तरमै दोस्रो स्थान हासिल गरेकी छिन्।

यस वर्षको एसईई परीक्षामा विद्यालयबाट सहभागी सबै ४६ जना विद्यार्थी उत्तीर्ण भई शतप्रतिशत नतिजा ल्याउन सफल भएका छन्। लगातार उत्कृष्ट नतिजा दिँदै आएको विद्यालयले यस वर्ष पनि शैक्षिक क्षेत्रमा आफ्नो सशक्त उपस्थिति कायम राखेको हो। करुणा मगरले उच्च जीपीएसहित पालिकामै पहिलो स्थान हासिल गर्दा विद्यालयको प्रतिष्ठा बढेको छ भने सोविना थोकरले दोस्रो स्थान हासिल गर्दै विद्यालयको उपलब्धिलाई थप मजबुत बनाएकी छन्।

विद्यालयका प्रधानाध्यापक विजय कुमार थिङका अनुसार विद्यार्थीहरूको मेहनत, नियमित अध्ययन, शिक्षकहरूको निरन्तर मार्गदर्शन तथा अभिभावकको सहयोगका कारण यस्तो नतिजा सम्भव भएको हो। उहाँले विद्यालय व्यवस्थापन समिति र स्थानीय समुदायको साथ–सहयोगले पनि विद्यालयलाई गुणस्तरीय शिक्षा प्रदान गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो।

उत्कृष्ट नतिजाप्रति विद्यालय परिवार, शिक्षक, अभिभावक तथा स्थानीय समुदायले खुसी व्यक्त गरेका छन्। पालिकामै प्रथम हुन सफल करुणा मगर, दोस्रो स्थान हासिल गर्न सफल सोविना थोकरसहित सफल सम्पूर्ण विद्यार्थीलाई विद्यालयले हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेको छ।

 


  • सम्बन्धित विषय:

  • # Bijay Kumar Thing


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend