असोज ३० गते २०८३ || October 16, 2026

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको मुद्दामा आजबाट पूर्ण सुनुवाइ हुने 


पिपल अनलाइन
बुधबार, माघ ११ २०७९०७:४२

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको मुद्दामा आजबाट पूर्ण सुनुवाइ हुने 

काठमाडौँ - उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको मुद्दामा आजबाट पूर्ण सुनुवाइ हुने भएको छ । पुस २२ मा संवैधानिक इजलासले नागरिकता मुद्दामा अग्राधिकार प्रदान गरेर २०७९ माघ ११ मा पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश गरेको थियो । 

नागरिकता विवादबारे संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ । लामिछानेबारे जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको फायल सर्वोच्च अदालतले झिकाएको छ । २०७५ असार ६ मा लामिछानेले अध्यागमन विभागमा पेस गरेको कागजात र मङ्सिर १३ मा उम्मेदवारी सम्बन्धमा निर्वाचन आयोगले गरेको निर्णयको सक्कल प्रति पनि सर्वोच्च अदालतले झिकाएको छ । 

अमेरिकाको नागरिकता त्यागेपछि नेपालको नागरिकता लिने प्रक्रिया पूरा नगरेर उनले २०५० सालमा लिएको नागरिकता अहिले चलाइरहेका छन् । पुरानो नागरिकता दुरुपयोग गरेको र अमेरिकी नागरिक छँदै नेपालको पासपोर्ट लिएको भन्दै अधिवक्ता रविराज बसौला र सिन्धुली घर भएका युवराज पौडेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।  लामिछाने नेपाली नागरिक नै नभएको भन्दै सांसद हुन अयोग्य भएको जिकिर निवेदकहरूको छ ।  चितवन–२ बाट निर्वाचित लामिछाने नागरिकता विवादकै बीच गृहमन्त्रीमा नियुक्त भएका थिए । लामिछानेले अमेरिकाको नागरिकता त्यागेको कुरा २०७५ असार ६ मा अध्यागमन विभागलाई जानकारी गराएका थिए । 


  • सम्बन्धित विषय:

  • # उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको मुद्दामा आजबाट पूर्ण सुनुवाइ हुने
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend