असोज ३० गते २०८३ || October 16, 2026

मुलुकको वातावरण निर्वाचनमय बनेको छ : निर्वाचन आयोग


सोमबार, वैशाख १२ २०७९०१:३७

मुलुकको वातावरण निर्वाचनमय बनेको  छ  :  निर्वाचन आयोग

काठमाडौँ - निर्वाचन आयोग र राजनीतिक दलका गतिविधि स्थानीय तह निर्वाचन केन्द्रित रहेकाले मुलुकको वातावरण निर्वाचनमय बनेको निर्वाचन आयोगको भनाई छ ।

राजनीतिक दलका पछिल्ला प्रत्येक बैठक, छलफल, अन्तरक्रिया र भेला निर्वाचनसम्बन्धी विषयमा केन्द्रित छ भने आयोगले निर्वाचनका लागि  आवश्यक सामग्रीको व्यवस्थापन र तालिम प्रशिक्षण करिब पूरा गरेको जनाएको छ । निर्वाचनसम्बन्धी गतिविधि र कार्यक्रम अब केन्द्रबाट प्रदेश हुँदै स्थानीय तहतर्फ उन्मुख भइसकेको आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।

राजनीतिक दलहरू उम्मेदवार सिफारिशको अन्तिम तयारीमा जुटेका छन् । केही दलले केही ठाउँमा उम्मेदवारबारे निर्णय गरिसकेका छन् भने केही दलले उम्मेदवार तय गर्न आन्तरिक छलफलमा व्यस्त छन् । आयोगले मुख्य निर्वाचन अधिकृत, निर्वाचत अधिकृत र जिल्ला निर्वाचन अधिकारीका लागि मुलुकका ८ स्थानमा निर्वाचन  सञ्चालन तथा व्यवस्थापन प्रशिक्षक प्रशिक्षण सम्पन्न गरिसकेको छ ।

आयोगले यसअघि विराटनगर, धुलिखेल, पोखरा र नेपालगञ्जमा गत चैत ३० गते र  जनकपुर, हेटौडा, बुटवल र धनगढीमा वैशाख २ गते प्रशिक्षण सम्पन्न गरिसकेको छ । राजनीतिक दलले पनि यसबीचमा स्थानीय तहमा भेला र प्रशिक्षणका अधिकांश कार्यक्रम पूरा गरिसकेका छन् ।

वैशाख ३० गते शुक्रबार देशका सबै स्थानीय तहमा एकै चरणमा हुने निर्वाचनका लागि निर्वाचन अधिकृतलाई गत चैत २९ गतेदेखि लागू हुनेगरी आयोगले नियुक्ति दिइसकेको प्रवक्ता पौडेलले जानकारी दिनुभयो । निर्वाचन सम्पन्न गर्न आयोगले आफ्ना सबै संयन्त्र परिचालन गरिसकेको उहाँको भनाई छ ।

निर्वाचन अधिकृतहरु कार्यक्षेत्रतर्फ प्रस्थान गरी पूर्वतयारीको काममा जुट्ने कार्य शुरु भइसकेको छ । दुर्गम जिल्लामा खटिएका कतिपय अधिकृत केन्द्रबाट त्यसतर्फ प्रस्थान गरिसकेको आयोगले जनाएको छ । तालिम प्रशिक्षण लिएका निर्वाचन अधिकृतले मुलुकका सबै स्थानीय तहमा वैशाख ८ गते विधिवतरुपमा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याउने कार्यक्रम रहेको छ । 

स्थानीय तह निर्वाचनका लागि  निर्वाचन अधिकृतको कार्यालयमा कम्तिमा नौ जनाका दरले मुलुकभर करिब २ लाखको संख्यामा कर्मचारी खटिएका छन् । आयोग, प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघको समन्वय र सहकार्यमा यसबीचमा सञ्चारकर्मीका लागि निर्वाचन आचारसंहितासम्वन्धी प्रदेशस्तरीय प्रशिक्षण सम्पन्न भएका छन् । निर्वाचन सफल बनाउन मिडियाको भूमिका महत्वपूर्ण रहने आयोगको बुझाई छ ।

मतदाता शिक्षा

परम्परागत पद्धति खर्चिलो र प्रभावकारी नभएको निष्कर्षसहित यस पटक आयोगले मतदाता शिक्षाका लागि विद्युतीय सञ्चार माध्यम र सामाजिक सञ्जालको अधिकतम प्रयोगमा जोड दिएको छ । त्यसका लागि आयोगले वेभसाइटलगायतका अन्य सामाजिक सञ्जालको प्रयोग र इ–बुलेटिन प्रकाशन थालेको छ । 

विभिन्न भाषाभाषीमा मतदाता शिक्षासम्बन्धी सूचनामूलक कार्यक्रम सञ्चालन तथा जिल्ला निर्वाचन कार्यालयले स्थानीय एफएम रेडियो, पत्रपत्रिका र टेलिभिजनबाट पनि निर्वाचन शिक्षाको आवश्यक प्रचार प्रसार गरिरहेको छ ।

आयोगले मतदाता शिक्षालाई प्रभावकारी बनाउन तथा बदर मत प्रतिशत घटाउन मतदानस्थलमा यस पटक दुई दिनअघि मतदाता शिक्षा सूचना केन्द्र स्थापना गरी स्वयम्सेविकामार्फत मतदान गर्ने तरिका सिकाउने व्यवस्था मिलाएको जनाएको छ । 


  • सम्बन्धित विषय:

  • # निर्वाचन आयोग


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend