राष्ट्रिय सभा सदस्य रञ्जित कर्णले आफूविरुद्ध प्रकाशित भ्रामक र असत्य समाचारप्रति आपत्ति जनाउँदै साइबर ब्युरोमा उजुरी दिएका छन्। केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आफ्ना अभिव्यक्तिलाई तोडमोड गरी गलत सन्देश फैलाइएको भन्दै उनले गम्भीर ध्यानाकर्षण गराएका हुन्। सञ्चारकर्मीसँग कुरा गर्दै कर्णले प्रेस स्वतन्त्रता लोकतन्त्रको आधार स्तम्भ भएको उल्लेख गरे। उनले नेपाली कांग्रेस प्रेस स्वतन्त्रताको पक्षमा उभिने पार्टी भएको र आफू पनि त्यसप्रति प्रतिबद्ध रहेको स्पष्ट पारे। तर, गलत सूचना फैलाएर व्यक्तिको चरित्र हत्या गर्नु प्रेस स्वतन्त्रता नभएको उनको भनाइ थियो। “प्रेस स्वतन्त्रता भनेको जिम्मेवारीसहितको स्वतन्त्रता हो,” उनले भने, “तथ्यलाई तोडमोड गरेर भ्रम सिर्जना गर्नु उचित होइन।” प्रधानमन्त्रीसँग राखिएको प्रश्नलाई पनि गलत सन्दर्भमा प्रस्तुत गरिएको दाबी गर्दै ‘बालुवाटार जलाउने धम्की’ दिएको भन्ने आरोप निराधार भएको उनले बताए। यदि त्यस्तो कुनै प्रमाण भए आफू कानुनी कारबाही भोग्न तयार रहेको उनको भनाइ छ। कर्णले तथ्यहीन र उद्देश्यप्रेरित सामग्रीले लोकतन्त्रलाई कमजोर बनाउने चेतावनी दिँदै सञ्चारमाध्यमलाई सन्तुलित र सत्य सूचना प्रवाह गर्न आग्रह गरेका छन्। उनले प्रेस स्वतन्त्रतासँगै जिम्मेवार पत्रकारिता पनि अपरिहार्य रहेकोमा जोड दिए।