असोज २९ गते २०८३ || October 15, 2026

राक्सिराङ गाउँपालिकाका र मकवानपुरगढी गाउँपालिका सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी


मंगलबार, जेठ ३ २०७९१०:४०

राक्सिराङ गाउँपालिकाका र मकवानपुरगढी गाउँपालिका सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी

हेटौँडा - मकवानपुरको राक्सिराङ गाउँपालिकाका र मकवानपुरगढी गाउँपालिका सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन्। मङ्गलबार निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मत परिणाम अनुसार राक्सिाराङ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका राजकुमार मल्ल र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) का वनस्थम थिङ निर्वाचित हुनुभएको हो।

अध्यक्षमा निर्वाचित मल्लले पाँच हजार ४८१ र उहाँका प्रतिस्पर्धी नेकपा एमालेका बाबुलाल थिङले चार हजार ५७२ मत प्राप्त गर्नुभएको छ। उपाध्यक्षमा विजयी थिङले चार हजार ८३८ र उहाँका निकटतम प्रतिस्पर्धी एमालेका सुन्तलीमाया प्रजाले चार हजार १२१ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। नौ  वडा रहेको पालिकामा कांग्रेसले वडा नम्बर २, ५, ७ र ९,  एमालेले वडा नम्बर १, ३ र ४ तथा माओवादी केन्द्रले वडा नम्बर ६ र ८ को वडा अध्यक्ष जितेको छ।

यसअघि इन्द्रसरोवर गाउँपालिकामा अध्यक्षमा एमालेका देवकृष्ण पुडासैनी शर्मा र उपाध्यक्षमा एमालेकै उमाकुमारी लामा निर्वाचित हुनुभएको छ। यस्तै भीमफेदी गाउँपालिकाको अध्यक्षमा एमालेका हिदम लामा पुनः निर्वाचित हुनुभएको छ। उपाध्यक्षमा सत्तारुढ गठबन्धनबाट कांग्रेसका सञ्जीव श्रेष्ठ विजयी बन्नुभएको छ।

 यसैगरी मकवानपुरगढी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका दोर्जे लामा स्याङ्तान र उपाध्यक्षमा माओवादी केन्द्रका मानकुमारी नेपाली पाख्रिन विजयी बन्नुभएको छ। अध्यक्षमा निर्वाचित स्याङ्तानले छ हजार ७०६ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी नेकपा एमालेका विदुर हुमागाईँले पाँच हजार ६४५ मत प्राप्त गर्नुभएको छ। 

यस्तै उपाध्यक्षमा विजयी पाख्रिनले छ हजार ११० मत ल्याउनु हुँदा उहाँका प्रतिस्पर्धी सन्तु थिङले पाँच हजार पाँच हजार २०४ मत प्राप्त गर्नुभएको छ। आठ वटा वडा रहेको यस पालिकामा कांग्रेसले वडा नं. १, २, ५, ६, ७ र ८ तथा एमालेले ३ र ४ नं. वडाको वडा अध्यक्ष जितेको छ।


  • सम्बन्धित विषय:

  • # मकवानपुर


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend