कात्तिक १ गते २०८३ || October 17, 2026

सार्वजनिक बिदाका दिन : सञ्चालन गरिएका सरकारी सवारी साधन नियन्त्रणमा


आइतबार, जेठ ८ २०७९०७:१९

सार्वजनिक बिदाका दिन : सञ्चालन गरिएका सरकारी सवारी साधन नियन्त्रणमा

काठमाडौँ - सार्वजनिक बिदाका दिनमा सञ्चालन गरिएका सरकारी सवारी साधनलाई नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले सार्वजनिक बिदाका दिनमा सार्वजनिक निकायले कार्यालयका सवारी साधन सञ्चालन नगर्ने गृह मन्त्रालयको निर्देशनानुसार कार्यान्वयन गर्ने क्रममा शनिबार पाँच सवारी साधन नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पदमराज थापाका अनुसार बिरुवा गाउँपालिकाका दुई मोटरसाइकल, शिक्षा कार्यालयको एउटा मोटरसाइकल, गल्याङ नगरपालिकाको चार पाङ्ग्रे सवारी साधन र पर्वतको पैयुँ गाउँपालिकाको चार पाङ्ग्रे सवारी साधन नियन्त्रणमा लिइएको हो ।

आज पनि सार्वजनिक बिदा भएकाले अनुमति विना सरकारी सवारी साधन सञ्चालन गरेको पाइएमा नियन्त्रणमा लिइने उनले बताए । शनिबार नियन्त्रणमा लिइएका सरकारी सवारी साधन आज सार्वजनिक बिदा भएकाले सोमबार मात्रै आवश्यक प्रक्रिया पूरा गरेर फिर्ता गरिने उनले जानकारी दिए ।

नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयानुसार शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय भई यही जेठ १ गतेदेखि लागू भइसकेकाले सार्वजनिक बिदाका दिनमा प्रशासन कार्यालयबाट जारी भएका पासबाहेकका सरकारी सवारी साधन सञ्चालन नगर्न नगराउन अनुरोध गरिएको छ । 


  • सम्बन्धित विषय:

  • # सवारी साधन नियन्त्रणमा


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend