असोज ३० गते २०८३ || October 16, 2026

राप्रपाले फागुन २४ गते राष्ट्रपति निर्वाचनबारे निर्णय लिने


मंगलबार, फागुन २३ २०७९०७:११

राप्रपाले फागुन २४ गते राष्ट्रपति निर्वाचनबारे निर्णय लिने

काठमाण्डौँ - नौ दलीय गठबन्धनका साझा उम्मेदवार रामचन्द्र पौडेलसहित गठबन्धनका नेताहरूले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेताहरूसँग भेटवार्ता गरेका छन् । यही फागुन २५ गते हुन लागेको राष्ट्रपति निर्वाचनमा गठबन्धनका साझा उम्मेवार पौडेललाई भोट माग्न सोमबार साँझ गठबन्धनका नेताहरू राप्रपा केन्द्रीय कार्यालय धुम्बाराही पुगेका थिए ।

भेटमा राप्रपा नेताहरूले आगामी फागुन २४ गते बस्ने पार्टीको केन्द्रीय समिति बैठकले राष्ट्रपति निर्वाचनबारे निर्णय लिने जानकारी दिएको भेटमा सहभागी कांग्रेस नेता दीपक खड्काले बताए ।

राप्रपा नेताहरूले राष्ट्रपति निर्वाचनमा सहभागी हुने वा नहुने भन्नेबारे टुंगो लगाएपछि नोक्सान नहुने गरी निर्णय लिने बताएका छन् । त्यही अवसरमा राप्रपा नेताहरूले गठबन्धनबाट राष्ट्रपति पदमा साझा उम्मेदवार बनेको भन्दै पौडेललाई शुभकामना व्यक्त गरेका थिए ।

भेटमा राष्ट्रपति उम्मेदवार एवं कांग्रेसका वरिष्ठ नेता पौडेलसहित कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, दीपक खड्का, माओवादी केन्द्रका नेता शक्ति बस्नेत, लोकतान्त्रिक समाजवादी पार्टीका नेता शरतसिंह भण्डारी, जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ लगायतको सहभागिता थियो ।

राप्रपा तर्फबाट अध्यक्ष राजेन्द्र लिङ्देन, नेताहरू प्रकाशचन्द्र लोहनी, विक्रम पाण्डे, दीपक बोहरा लगायत सहभागी थिए । राष्ट्रपति निर्वाचन आगामी फागुन २५ गते हुँदैछ । कांग्रेसबाट पौडेल र नेकपा ९एमाले० बाट सुवास नेम्वाङ उम्मेदवार छन् ।

 


  • सम्बन्धित विषय:

  • # राप्रपाले फागुन २४ गते राष्ट्रपति निर्वाचनबारे निर्णय लिने


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend