त्रिशूली - स्थानीय तह निर्वाचन २०७९ मा नुवाकोटका केही उम्मेदवारले शुन्य मतदेखि दोहोरो अंकको मत सङ्ख्यासमेत कटाउन सकेनन् । वैशाख ३० गते भएको निर्वाचनमा जिल्लामा ६६४ पदका लागि भएको निर्वाचनमा दुई हजार एक उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका थिए ।
जिल्लाका दुई लाख ३७ हजार ४३४ मतदातामध्ये प्रारम्भिक तथ्याङ्कअनुसार ७० प्रतिशतले मतदान गरेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी जयप्रसाद गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार चुनावी प्रतिस्पर्धामा रहेका उम्मेदवारमध्ये १७ जना उम्मेदवारले आफ्नै मत (एक मत) पनि पाएका छैनन् । १२ जनाको एक एक मत र १३ जनाले दुई दुई मत मात्रै पाएका छन् ।
तथ्याङ्क अनुसार नुवाकोटका करिव एक सय उम्मेदवारले दोहोरो अंकको मत ल्याउन सकेका छैनन् । जिल्लामा मतान्तरण प्रतिशतको आधारमा सबैभन्दा फरक अंकको प्रतिस्पर्धा किस्पाङ–१ को दलित महिला सदस्यमा देखिएको छ । नेकपा (माओवादी केन्द्र)का उम्मेदवार धनमाया बिश्वकर्माले ७३७ मत ल्याएर निर्वाचित हुदाँ उनका प्रतिस्पर्धी जनसमाजवादी पार्टीका उम्मेदवार पम्फा बिश्वकर्माले एक मत मात्रै ल्याईन् ।