कात्तिक २ गते २०८३ || October 18, 2026

३० वर्षे सेवावधि हटाउने कसरतमा आइजिपी सिंह


पिपल अनलाइन
आइतबार, फागुन २८ २०७९०८:०४

३० वर्षे सेवावधि हटाउने कसरतमा आइजिपी सिंह

काठमाडौँ - राष्ट्रिय किताबखाना प्रहरीले प्रहरी महानिरीक्षक आइजिपी धीरजप्रताप सिंहलाई आगामी चैत ११ गतेबाट लागु हुनेगरी अवकाशपत्र थमाएको छ। किताबखानाले सिंहसहित २०४९ चैत ११ गते सेवा प्रवेश गरेका प्रहरी अतिरिक्त महानिरीक्षक एआइजीहरू सहकुलबहादुर थापा, उत्तमराज सुवेदी र दिवेश लोहनी, प्रहरी नायब महानिरीक्षक डिआइजीहरू नलप्रसाद उपाध्याय, मसउद आलम खाँ र मोहनकुमार आचार्यलाई एक साताअघि नै अवकाशसम्बन्धी पत्र पठाएको हो ।

प्रहरी नियमावली, २०७१ को नियम १२७ घ मा रहेको ३० वर्षे सेवावधिलाई आधार बनाएर अवकाशपत्र पठाइएको किताबखानाका निर्देशक एवं सूचना अधिकारी सहदेव रायमाझीले बताए। ‘सामान्यतया अवकाश हुनुभन्दा ६ महिना अगाडिदेखि नै अवकाश तयारी प्रक्रिया सुरु हुन्छ,’ निर्देशक रायमाझीले भने, ‘यसै प्रक्रियाअन्तर्गत अवकाशमा जानुभन्दा केही समयअगाडि नै हामीले सम्बन्धित कार्यालयमा त्यसबारे सूचित गर्छौंं। सोहीअनुसार आइजिपी र उहाँसँग भर्ना भएका प्रहरी कर्मचारीको अवकाशसम्बन्धी जानकारीपत्र प्रहरी प्रधान कार्यालयमा पठाइसकेका छौं।’

प्रहरी नियमावलीमा भएको ३० वर्षे सेवावधिका आधारमा किताबखानाले अवकाश हुने मिति तोकर पत्र पठाउँदा पनि आइजिपी सिंह भने नियमावलीको प्रावधान हटाएर कार्यकाल थप दुई वर्ष बढाउने ‘लबिङ’ मा लागेका छन्।

प्रहरी नियमावलीमा रहेको ३० वर्षे सेवाअवधिको प्रावधान हटाउन लामो समयदेखि प्रयास भए पनि सफलता मिल्न सकेको छैन। तर अहिले आइजिपी सिंह चैत ११ गतेअगाडि नै उक्त प्रावधान हटाउन लगाएर कार्यकाल लम्ब्याउने खेलमा रहेको स्रोतको दाबी छ। यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ । 


  • सम्बन्धित विषय:

  • # ३० वर्षे सेवावधि हटाउने कसरतमा आइजिपी सिंह
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend