धादिङ - धादिङको सिद्धलेक गाउँपालिकामा आज सम्पन्न कार्यपालिकाको चुनावमा एमाले र एकीकृत समाजवादीको गठबन्धनले कांग्रेस र माओवादी केन्द्रको गठबन्धनलाई पराजित गरेको छ । सत्ता गठबन्धनबाट गाउँपालिका उपाध्यक्ष जितेको एककिृत समाजवादी कार्यपालिकाका सदस्यको निर्वाचनमा एमाले सँग तालमेल गर्न पुगेपछि कांग्रेस र माओवादी केन्द्रले ६ जना नै सदस्य गुमाएको छ ।
६ जना कार्यपालिका सदस्यका लागि आज भएको चुनावमा ४ जना महिला तर्फ एमाले र एकीकृत समाजवादीको गठबन्धनबाट जुना सार्की, भगवती तिवारी, लक्ष्मी थपलिया र प्रेमकुमारी थापामगर विजयी भए । सार्की, थपलिया, थापामगर एमालेबाट र तिवारी एकीकृत समाजवादीबाट विजयी भएका हुन् । विजयी सबैले २०/२० मत ल्याएका थिए भने पराजित हुने खिनमाँया श्रीमल कांग्रेस, राममाया परियार कांग्रेस, सुन्तली विक कांग्रेस र सुक्लाकुमारी आलेमगर माओवादीले १६/१६ मत मात्रै पाएका थिए ।
यस्तै दलित तथा अल्पसंख्याकमा एमाले र एकीकृत समाजवादीको गठबन्धनबाट दुबै उम्मेदवार एकीकृत समाजवादीका श्याबहादुर घले र रस्मिता माझी विजयी भए घलेले २० मत र माझिले १९ मत ल्याएका थिए । भने पराजित माओवादीका मिना घले १६ मत, कांग्रेसका दिलबहादुर घलेले १७ मत पाएका थिए भने माओवादीका खिनबहादुर विुन्खेले शुन्य मै चित्त बुझाए ।
यस कार्यपालिकाको निर्वाचन सँगै कांग्रेस माओवादी र एकीकृत समाजवादीको गठबन्धनबाट पालिका अध्यक्ष बनेका कांग्रेस परशुराम खतिवडा अल्पमतमा परेका छन् । उनी सँग कांग्रेसको दुई वडा अध्यक्ष र माओवादीको दुई वडा अध्यक्ष सहित ५ जना कार्यपालिकामा देखिने छन् । यस्तै तीन दलिय गठबन्धनबाट उपाध्यक्षमा विजयी सविता अर्याल सँग आफु समेत एकीकृत समाजवादीको ४ सदस्य र एमालेको ३ वडा अध्यक्ष र ३ आज निर्वाचित सदस्य गरी १० सहित बहुमत सदस्य रहने छन् ।