कात्तिक २ गते २०८३ || October 18, 2026

पशुपति क्षेत्रमा वत्सलेश्वरी, बज्रेश्वरी जात्रा सुरु


पिपल अनलाइन
आइतबार, चैत ५ २०७९१२:५७

पशुपति क्षेत्रमा वत्सलेश्वरी, बज्रेश्वरी जात्रा सुरु

 काठमाडौँ - मुलुकमा शान्ति होस् भन्ने कामनाले पशुपति क्षेत्रमा गरिने वत्सलेश्वरी एवं बज्रेश्वरी जात्रा सुरु भएको छ ।

आर्यघाट जाने बाटोस्थित वत्सलेश्वरी मन्दिर परिसरबाट सुरु भएको जात्रा पशुपति क्षेत्रका सबै टोलमा घुमाउने परम्परा रहेको पशुपति क्षेत्र विकास कोष अमालकोट कचहरीका द्वारे पूर्ण डङ्गोलले जानकारी दिए ।

चैत्र कृष्ण अष्टमीका दिन पशुपतिका भट्टले नै जात्रामा उपत्यकाका मुख्य देवदेवी एवं स्थानीयलाई जात्रा हेर्न आउनु भनी निमन्त्रणा दिने लिच्छविकालदेखिको परम्परा रहेको जनाइएको छ।

यसअघि बज्रेश्वरी, वत्सलेश्वरी, आकाशभैरव, पशुपति क्षेत्रका नौ शक्तिपीठलगायत स्थानमा देशोद्धार पूजा सम्पन्न गरिएको थियो। पूजा सम्पन्न गरी बज्रेश्वरी जात्रा सुरु गरिएको हो। वत्सलेश्वरी जात्रा आजदेखि तीनदिनसम्म मनाइन्छ। चैत्र शुक्ल द्वितीयाका दिन सिन्दुर जात्रा गरी वत्सलेश्वरी जात्रा समापन गरिन्छ।

मुलुकमा शान्ति होस् भन्ने कामनाले पूजा एवं जात्रा गरिएकाले दूध खाने बालक पनि यो जात्रा हेर्न आउँछन् भन्ने विश्वास पशुपति क्षेत्रमा गरिन्छ। देशोद्धार पूजा र जात्रामा चार थरका मानिस प्रत्यक्षरुपमा संलग्न हुने गरेका छन्। उपाध्याय, वैद्य, डङ्गोल र सङ्गत गरी चार थर प्रत्यक्षरुपमा सहभागी हुने गरेको उनले सुनाए।

वत्सलेश्वरीलाई नक्साल भगवतीको दिदीका रुपमा पूजा आराधना गरिन्छ। भगवान् शिवको पत्नीका रुपमा पूजिने वत्सलेश्वरीलाई पशुपतिबाट निकालेको भन्ने किंवदन्तीका आधारमा आज नक्साल भगवतीको जात्रा पनि पशुपति क्षेत्रमा लगिन्छ।

नक्साल भगवतीले भगवान् शिवको ध्यानाकर्षण गराउन आज बेलुकी रथले पशुपतिको मूलढोकामा तीनपटक ठोकाएर फर्काउने प्रचलन रहिआएको छ।

बहिनीले श्रीमान्को ध्यानाकर्षण गराएपछि वत्सलेश्वरी माता भने चैत्र शुक्ल प्रतिपदाका राति छोरा चन्द्रविनायककहाँ बस्न जाने परम्परा छ।

यसै परम्पराअनुसार वत्सलेश्वरीको रथ तानेर चाबहिल गणेशसमेत भनेर पुजिने चन्द्रविनायकमा लगिन्छ। त्यहाँबाट पशुपति क्षेत्रका विभिन्न स्थानमा घुमाएर पशुपति अमालकोटमा ल्याई सिन्दुर जात्रा गरेपछि १० दिन लामो जात्रा सकिने परम्परा छ।

प्रत्येक वर्ष यो जात्रा मनाएमा जनतामा रोगव्याध नलाग्ने तथा सुख, शान्ति हुने विश्वास रहेको छ। यसै विश्वासले बालबालिका पनि जात्रा हेर्न पशुपति क्षेत्रमा आउने गरेका छन्। जात्राका क्रममा जयवागेश्वरीको नवाली टोलमा वत्सलेश्वरी माताको रथलाई राखिएको थियो।

सिफलचौरमा रथ घुमाएर जात्रा गरिन्छ। सिफल ढोकामा पशुपतिका कोटवालाले चमर पङ्खा हम्केर मातालाई आह्वान गर्ने विधि छ । चैत ९ गते बिहीबार यो जात्रा समापन हुन्छ।


  • सम्बन्धित विषय:

  • # पशुपति क्षेत्रमा वत्सलेश्वरी, बज्रेश्वरी जात्रा सुरु
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend