असोज ३० गते २०८३ || October 16, 2026

आगामी असार १ गतेदेखि मतदाता नामावली संकलन कार्य शुरु : निर्वाचन आयोग


सोमबार, जेठ २३ २०७९११:४६

आगामी असार १ गतेदेखि मतदाता नामावली संकलन कार्य शुरु : निर्वाचन आयोग

काठमाडौं - निर्वाचन आयोगले आगामी असार १ गतेदेखि मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य शुरु गर्नेभएको छ । आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलकाअनुसार आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सो अद्यावधिक गर्न लागिएको हो ।

स्थानीय तह निर्वाचन २०७९ को मिति घोषणा भएपछि २०७८ माघ २५ गतेदेखि स्थगित भएको मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम शुरु हुन लागेको आयोगका प्रवक्ता पौडेलले जानकारी दिनुभयो । यस अवधिमा नागरिकता लिएका र मतदाता नामावली ऐन, २०७३ बमोजिम योग्यता पुगी नाम दर्ता गर्न छुट भएका सबै नेपाली नागरिकहरुले प्रदेश तथा जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा गई आफ्नो नाम दर्ता गराउन सक्ने आयोगले प्रष्ट पारेको छ ।

“यस कार्यक्रम अन्तर्गत नाम दर्ता गर्न, विवरणमा रहेको त्रुटि सच्याउन, मतदाता नामावलीबाट नाम हटाउन, ठेगाना परिवर्तन गर्न, मतदानस्थल परिवर्तन गर्न, दोहोरो परेको नाम हटाउन सम्बन्धित निर्वाचन कार्यालयमा निवेदन दिन सकिनेछ” आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । आयोगबाट वितरण भएको मतदाता परिचयपत्र भएको तर कुनै कारणले मतदाता नामावलीमा नाम छुटेको व्यक्तिहरुले समेत मतदाता नामावलीमा नाम दर्ता गराउन सक्ने प्रवक्ता पौडेलको भनाई छ । 

“पेशा, व्यवसायको कारणले कुनै एक जिल्लामा बसोबास गरिरहेको तर आफ्नो स्थायी ठेगाना अर्को जिल्लामा रहेको भएमा त्यस्तो व्यक्तिले नाम दर्ताको लागि आवश्यक प्रमाणसहित आफू रहेको जिल्लाको निर्वाचन कार्यालयमा निवेदन दिएमा त्यस्तो व्यक्तिको नाम निजको स्थायी ठेगानामा रहने गरी बाहिरी जिल्ला मतदाता दर्ता कार्यक्रम समेत सञ्चालन हुनेछ” विज्ञप्तिमा भनिएको छ ।  

आगामी निर्वाचनमा कोही पनि नछुट्ने गरी आप्mनो नाम दर्ता गर्न तथा विवरण अद्यावधिक गर्न आयोग सबैमा आग्रह गरेको छ । कार्यक्रमलाई सबै राजनीतिक दल तथा सरोकारवालाहरूले आफ्नो क्षेत्रबाट सहयोग गरिदिन पनि आयोगले अपिल गरेको छ । 


  • सम्बन्धित विषय:

  • # निर्वाचन आयोग


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend