काठमाडौं - प्रतिनिधिसभामा रक्षा मन्त्रालय, अर्थ मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालयसँग सम्बन्धित विषयमा प्रधानमन्त्री र सम्बन्धित मन्त्रीले जवाफ दिन यही असार २ गतेका लागि समय निर्धारण गरिएको छ।
बुधबारको बैठकमा ती मन्त्रालय र निकायकासमेत जवाफ दिइसकिने समय तोकिएकामा आज राति ९:३० बजेसम्म चलेको बैठकपछि सभामुख अग्निप्रसाद सापकोटाले उक्त जानकारी गराएको हो।
शोक प्रस्ताव पारित
बुधबार बसेको बैठकले पूर्वमन्त्री मिथिला चौधरीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ। सभामुख सापकोटाले प्रस्तुत गरिएको उक्त शोक प्रस्तावलाई बैठकको सर्वसम्मतिले पारित गरेको हो।
बैठकमा दिवङ्गत चौधरीको निधनप्रति शोक प्रकट गर्दै एक मिनेट मौन धारणसमेत गरिएको थियो।
नेपाल कम्युनिष्ट पार्टी(संयुक्त)बाट विसं २०७० को संविधानसभा सदस्य निर्वाचनमा समानुपातिक सदस्यमा निर्वाचित, पूर्वजनसङ्ख्या तथा वातावरणमन्त्री, हाल नेकपा(माओवादी केन्द्र)सँग आबद्ध रहेकी दिवङ्गत चौधरीको ५७ वर्षको उमेरमा गत जेठ २७ गते उपचारका क्रममा भारतको नयाँ दिल्लीमा असामयिक निधन भएको थियो।
प्रतिनिधिसभाका अर्को बैठक २०७९ असार २ गते बिहीबार दिउँसो १ बजेका लागि तोकिएएको छ।