काठमाडौं - प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज र भोलि सुदूरपश्चिम भ्रमणमा जाने भएको छ । प्रधानमन्त्री देउवा गृहप्रदेशको दुई दिने भ्रमणमा जान लागेको हो ।
प्रधानमन्त्री देउवा शुक्रबार कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका विद्यार्थीहरूको दीक्षित समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ । विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा करिब तीन सयभन्दा बढी विद्यार्थी दीक्षित हुने सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले जनाएको छ ।
दीक्षान्त समारोहमा प्रधानमन्त्री देउवा, शिक्षा मन्त्री देवेन्द्र पौडेललगायतको सहभागिता रहने जनाइएको छ । प्रधानमन्त्री देउवाले भोलि शनिबार धनगढीको एक कार्यक्रममा सहभागी हुने रहेको छ । देउवाले शनिबार विहान धनगढी उपमहानगरपालिका प्राङ्गणमा बनेको नवनिर्मित भवनको समुद्घाटन गर्ने उपमहानगरपालिले जनाएको छ।