असोज २९ गते २०८३ || October 15, 2026

लम्पी स्किन रोगले थलिँदै चौपाया


पिपल अनलाइन
शनिबार, वैशाख ९ २०८००८:४२

लम्पी स्किन रोगले थलिँदै चौपाया

काठमाण्डौँ - मधेस प्रदेशबाहेकका करिब ३० वटा जिल्लाका पशुचौपायामा लम्पी स्किन रोग फैलिएको छ। पशु सेवा विभागका अनुसार चालू आर्थिक वर्ष २०७९र८० मा मात्रै मुलुकभर करिब ११ हजार ६५ गाई–भैंसी संक्रमित भएका छन् भने सैयौंको मृत्यु भएको छ। यसका कारण किसानले करोडौंको क्षति बेहोर्नुपरेको छ। 

सन् २०१९ बाट नेपालका गाई–भैंसीमा देखिँदै आएको लम्पी स्किन रोग यस वर्ष अझै तीव्र गतिमा फैलिएको विभागले जनाएको छ। विभागका अनुसार नेपालमा २०७७ साल असार १० मा मोरङको सुन्दरहरैंचा नगरपालिका ११ का गाईहरूमा यो रोगका लक्षणहरू पहिलोपटक देखा परेको थियो। 

यो रोगका कारण कोसी प्रदेशमा मात्रै १ सय ५० भन्दा बढी गाईको मृत्यु भएको छ। यसमा सबैभन्दा बढी इलामका किसान प्रभावित छन्। दुई महिनाकोबीचमा संक्रमणको रूपमा फैलिएको लम्पीको कारण कोसीका गाईपालक कृषकहरूले दुई करोडभन्दा बढीको पशुधन गुमाएका छन्। 

चिकित्सकका अनुसार यो रोग भैंसीमा भन्दा गाईमा बढी देखिन्छ। गर्मी मौसममा टोक्ने झिंगा, डाँख, लामखुट्टे, किर्नाजस्ता कीराहरूको संख्या बढी हुने तथा थप सक्रिय हुन्छ। त्यसैले गर्मी मौसम आएसँगै कोसी प्रदेशका १४ वटै जिल्लामा यो रोगको प्रकोप देखिएको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निमित्त निर्देशक पशुपति ढुंगानाले जानकारी दिए। उनका अनुसार गर्मी क्षेत्रमा यसको प्रकोप बढ्दो क्रममा छ। 

इलाम जिल्लामा मात्रै अहिले ३ हजार ५ सय ८ वटा गाई, बाच्छा–बाच्छीमा यसको संक्रमण देखिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाकी प्रमुख शीतल भट्टराईले जानकारी दिइन्। भनिन्, ‘यो केही समय अघिको विवरण हो। अहिले अझै बढेको हुन सक्छ।’

 इलाममा मात्रै अहिलेसम्ममा २७ वटा गाई, बाच्छाबाच्छी मरेका छन्। इलामका एउटै गाईको मूल्य दुई लाखसम्म पर्छ। जिल्लामै सबैभन्दा बढी प्रकोप रहेको सूर्योदय नगरपालिकामा मात्रै अहिलेसम्ममा २० वटा पशु मरिसकेका छन्।

सूर्योदय नगरपालिकाको पशुशाखा प्रमुख विपिन सिंहले भने, ‘संक्रमणको अवस्था भयावह छ। हामी त्यही विषयमा छलफलमा छौं।’ सूर्योदयमा अहिले २ हजार गाईमा संक्रमण देखिएको सिंहले जानकारी दिए। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।


  • सम्बन्धित विषय:

  • # लम्पी स्किन रोगले थलिँदै चौपाया
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend