कात्तिक २ गते २०८३ || October 18, 2026

भागबण्डाको किचलोले संसदीय समिति गठन अवरुद्ध


पिपल अनलाइन
आइतबार, वैशाख १० २०८००७:५४

भागबण्डाको किचलोले संसदीय समिति गठन अवरुद्ध

काठमाडौं - संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलहरूबीच संसदीय समिति सभापति भागबन्डाको किचलोले समिति गठन अवरुद्ध भएको छ । संसद्मा क्रियाशील हुनुपर्ने संसदीय समितिहरू गठन गर्ने विषयमा प्रमुख दलका शीर्ष नेताहरूबीच छलफल शुरू भए पनि भागबन्डामा समझदारी हुन नसक्दा समिति गठनमा अवरोध आएको हो ।

संसद्का मुख्य दलहरू नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी एमाले, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका शीर्ष नेताहरूबीच समिति सभापतिको भागबन्डामा सहमति हुन नसक्दा समिति गठन प्रक्रिया नै अवरुद्ध भएको राप्रपाका महामन्त्री धवलशमशेर राणाले बताउनुभयो । उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो–‘संसद्मा ठूला भनिएका दलहरूले जहाँ पनि भागबन्डामै अल्मलिएर बर्बाद बनाएका छन् । संसदीय समिति गठनमै अवरुद्ध भएपछि संसद्बाट पास गर्नुपर्ने सबै खालका कानुनहरू ल्याउन नसक्ने अवस्था आउँछ । यसले हाम्रो लोकतन्त्रलाई धरासायी बनाउँदै लैजान्छ । तैपनि दलहरू अहिले समितिको सभापति लेनदेनको विषयमा अल्झिएका छन् ।’

पछिल्लो शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र विपक्षी दलका नेता एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भए पनि भागबन्डामा कुरा नमिल्दा नेताहरू अनिर्णित बनेका छन् । दुई नेताबीच वैशाख १२ गते बोलाइएको संवैधानिक परिषद्को बैठक र संसदीय समितिहरुको गठनबारे झण्डै ४५ मिनेट छलफल भए पनि कुनै सहमति नजुटेपछि शीर्ष नेताहरू संवादहीनताको अवस्थामा पुगेको छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।


  • सम्बन्धित विषय:

  • # भागबण्डाको किचलोले संसदीय समिति गठन अवरुद्ध
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend