कात्तिक २ गते २०८३ || October 18, 2026

लुक्ला विमानस्थल व्यस्त : हिमाली क्षेत्रमा पर्यटन सुधार


पिपल अनलाइन
आइतबार, वैशाख १० २०८००८:०२

लुक्ला विमानस्थल व्यस्त : हिमाली क्षेत्रमा पर्यटन सुधार

काठमाडौँ - आरोहणको ऋतु सुरु भएसँगै लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थल व्यस्त भएको छ । आरोहण तथा ट्रेकिङमा जाने आन्तरिक र बाह्य पर्यटकको आवागमन बढेसँगै लुक्लामा अहिले काठमाडौँ तथा रामेछापको मन्थली विमानस्थलबाट दैनिक दर्जनौँ उडान भइरहेका छन्।

लुक्ला विमानस्थलका अनुसार रामेछापलाई आधार बनाएर उड्ने जहाज, काठमाडौँबाट हुने सिधा उडान र हेलिकोप्टरमार्फत पर्यटक धमाधम लुक्ला भित्रिने गरेका छन्।

नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख महेश श्रेष्ठका अनुसार पछिल्लो समय लुक्लामा दैनिक चार–पाँच सय पर्यटक भित्रिने गरेका छन्। उनले भने, “आरोहणको मौसम सुरु भएदेखि लुक्ला र काठमाडौँका उडान भरिभराउ हुन थालेका छन्। विमानस्थलमा हेलिकोप्टरले समेत दैनिक दर्जनभन्दा बढी उडान गर्दै आएका छन्।”

रामेछापबाट तारा, समिट र सीता एयरले दैनिक सोलुखुम्बु जिल्लाको लुक्ला विमानस्थलका लागि पर्यटक बोकिरहेकाले लुक्लासँगै मन्थली विमानस्थलको व्यस्ततासमेत बढेको छ। त्यस्तैगरी वसन्तयाममा पर्वतारोहण तथा पदयात्रा लक्षित काठमाडौँबाट हुँदै आएका उडान र हेलिकोप्टरबाट लुक्ला पुग्ने विदेशी पर्यटकको सङ्ख्या अधिक रहेको उनको भनाइ छ।

उहाँले पर्यटकको चाप बढेसँगै लुक्लाबाट दैनिक उडान सङ्ख्यासमेत बढेको बताउनुभयो। पछिल्लो समय वायु प्रदूषणका कारण देशका विभिन्न विमानस्थलको उडान प्रभावित भए पनि लुक्लामा भने उडान नियमित छन्। यो समाचार गोरखापत्र दैनिकमा छ ।


  • सम्बन्धित विषय:

  • # लुक्ला विमानस्थल व्यस्त : हिमाली क्षेत्रमा पर्यटन सुधार
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend