काठमाडौं - गृहमन्त्री बालकृष्ण खाणले विकासको महत्वपूर्ण क्षेत्र पूर्वाधारलाई सरकारले प्राथमिकतामा राखेको बताएको छ। सरकारले चाहँदाचाहँदै पनि सम्पन्न गर्न नसकेका पूर्वाधार विकासका आयोजना सम्पन्न गर्न थप जोड दिनुपर्ने उनले औँल्याए।
गृहमन्त्री खाणले रुपन्देहीको तिनाउ नदीमा निर्माण सम्पन्न पुलको शनिबार उद्घाटन गर्दै पूर्वाधार विकाससँगै नागरिकमा सुविधा तथा शान्ति र सुरक्षाको अवस्था सुदृढ हुने बताए ।
उनले भने, “पूर्वाधार विकास शान्तिसहित समृद्धिको यात्रा हो।” यो पुल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय र सडक डिभिजन बुटवलको आयोजनाका रूपमा १२ वर्षअघि निर्माण सुरु भएको हो।
पुलले बुद्ध सर्किट जोड्ने र चार नगरको भाइचारा सम्बन्ध स्थापना गर्न मद्दत पुर्याउने उल्लेख गर्दै गृहमन्त्री खाणले लुम्बिनीसँगै यस क्षेत्रको आन्तरिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।