काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकको नजिकको सरकार भएकाले स्थानीय तहको भूमिका संवेदनशील र जवाफदेहीपूर्ण हुनुपर्ने बताउनुभएको छ।
ललितपुरको गोदावरी नगरपालिकाको छैटौँ स्थापना दिवस तथा नगरपालिकाको प्रशासनिक भवन समुद्घाटन समारोहलाई शुक्रबार सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। सङ्घीय शासन प्रणालीसँगै संविधानले स्थानीय तहलाई विकास निर्माण र सेवा प्रवाहको क्षेत्रमा विभिन्न महत्वपूर्ण अधिकार र जिम्मेवारी प्रदान गरेको उल्लेख गर्नुभयो।
‘नागरिकको नजिकको सरकार स्थानीय तह भएकाले यो सरकारसँग नागरिकको अपेक्षा धेरै हुनु स्वभाविक हो’, उहाँले भन्नुभयो, ‘सीमित साधनस्रोतका बाबजुद स्थानीय सरकारले जनताको अपेक्षा र भावना बमोजिमको काम सम्पन्न गरेर जनताप्रतिको आफ्नो दायित्व र जवाफदेहिता निर्वाह गर्न सक्नुपर्दछ।’
उहाँले स्थानीय सरकारले गरेका काम र प्रदान गरेको सेवा सुविधाको प्रभाव जनतामा प्रत्यक्ष र छिटो पर्ने हुँदा जनताको काम छिटो छरितो ढंगले विना कुनै मोलाहिजा सम्पन्न गरी आमनागरिकमा सुशासनको प्रत्याभूति गराउनु स्थानीय तहको मुख्य कर्तव्य भएको उल्लेख गर्नुभयो।
नगरभित्र जनताको सुख सुविधाका लागि भौतिक पूर्वाधारको निर्माणदेखि नगरवासीलाई उपलब्ध गराउनुपर्ने सेवा सुविधा समयमै गुणस्तरीय ढङ्गले उपलब्ध गराउन नगरपालिकाले सक्दो पहल भन्दै उहाँले खुशी व्यक्त गर्नुभयो। प्रधानमन्त्री देउवाले नगरपालिकाले गरेका विकास निर्माणका काम र सेवा प्रवाहमा गरेको सुधारका विषय नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने विषय भएको उल्लेख गर्नुभयो।