लण्डन - बेलायतको कन्जरभेटिभ पार्टीकी नेतृ लिज ट्रसलाई प्रधानमन्त्री बोरिस जोन्सनको उत्तराधिकारीका रूपमा उनको दलबाट निर्वाचित गरिएसँगै आर्थिक सङ्कटको सामना गर्न ‘साहसिक’ कदम चाल्ने उनले प्रतिबद्धता व्यक्त गरेकी छन्।
थेरेसा मे र मार्गरेट थ्याचरपछि ४७ वर्षीया ट्रस बेलायतको तेस्रो महिला प्रधानमन्त्री हुने भएका छन्। बेलायती महारानी एलिजाबेथ द्वितीयासमक्ष वर्तमान् प्रधानमन्त्री जोनसनले राजीनामा बुझाएपछि उनले औपचारिक रूपमा पदभार ग्रहण गर्ने छन्।
विदेश मन्त्री ट्रसले आफ्नो नयाँ जनादेशलाई पुष्टि गर्न राजनीतिक रूपमा खतरनाक समयपूर्व चुनावको दबाबको पनि प्रतिरोध गर्दै ‘२०२४ मा कन्जरभेटिभ पार्टीलाई ठूलो विजय प्रदान गर्ने’ प्रतिज्ञा गरेका छन् । एक लाख ७० हजारभन्दा बढी कन्जरभेटिभ सदस्यले गरेको ग्रीष्मकालीन प्रतिस्पर्धामा ट्रसले आफ्ना प्रतिद्वन्द्वी पूर्व अर्थमन्त्री ऋषि सुनकलाई ५७ प्रतिशत मत ल्याएर पराजित गरेकी हुन् ।