धनगढी - अछामको पहिरो प्रभावित परिवारलाई छिट्टै राहत वितरण गर्ने सुदूरपश्चिम प्रदेश सरकारले जनाएको छ । जिल्लाको तुर्माखाँद, ढकारी गाउँपालिका र कमल बजार नगरपालिकामा गरी पहिरोमा परी अहिलेसम्म २२ जनाको मृत्यु हुनुका साथै केही बेपत्ता र घाइते भएको घटना अत्यन्त दुःखद रहेको आन्तरिक मामिला तथा कानुनमन्त्री डा. रणबहादुर रावलले बताए ।
प्रदेश सरकारले कृयाखर्च बापत २० हजार र राहत स्वरुप प्रतिमृतक बापत् एक–एक लाख रुपैयाँ प्रदान गर्ने जानकारी दिए। यसैगरी घर पूर्ण क्षति भएका परिवारलाई घर निर्माणका लागि ५० हजारको दरले रकम दिने उनले बताए ।
पहिरो प्रभावित र कैलाली, कञ्चनपुरका बाढी प्रभावितका लागि राहतको कमी हुन नदिने मन्त्री रावलले बताए । प्रदेश सरकार ‘स्टेन्डबाई’ तयारी अवस्थामा रहेको चर्चा गर्दै उनले भने, ‘खोज तथा उद्धार कार्यका लागि पनि प्रदेश सरकारले समन्वय गरेर सम्पूर्ण सुरक्षा निकायलाई परिचालन गरेको छ ।’
खोज र उद्धारका कार्य तदारुकताका साथ भइरहेको उनले बताए । अप्ठ्यारोमा परेकालाई सुरक्षाकर्मी परिचालन गरेर सुरक्षित ठाउँमा स्थान्तरण गर्ने कार्य भइरहेको मन्त्री रावलको भनाइ छ । प्रदेशको आपतकालीन कार्य सञ्चालन केन्द्र २४ घण्टा सञ्चालनमा रहेको उल्लेख गर्दै उद्धार, राहतको कार्यमा कमी हुन नदिने प्रतिबद्धता जनाए ।