असोज ३० गते २०८३ || October 16, 2026

रातारात काठमाण्डाै चेन्ज गर्नुपर्छ : नगर प्रहरी प्रमुख राजु पाण्डे


सोमबार, असोज ३ २०७९०६:३८

रातारात काठमाण्डाै चेन्ज गर्नुपर्छ : नगर प्रहरी प्रमुख राजु पाण्डे

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाले टुकुचा उत्खनन अभियान जारी राखेको छ । महानगरको टोलीले साेमवार पनि हात्तीसार–कमलपोखरीको क्षेत्रमा उत्खनन प्रक्रिया जारी राखेको हो । 

टुकुचा क्षेत्र अतिक्रमित गरेको भन्दै महानगरपालिकाले सम्भावित क्षेत्र पहिचान गरेर उत्खनन जारी राखेको छ । उत्खनन स्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै काठमाण्डाै महानगर नगरी प्रहरी बलका प्रमुख नगर उपरीक्षक राजु पाण्डेले महानगरको आदेशमा नै टुकुचा उत्खनन गरेको बताए । 

उनले महानगरपालिका विकासका लागि अघि बढिसकेको भन्दै अब काम गर्नका लागि पछि नहट्ने बताए । उनले महानगर चिनियाँ शैलीमा विकास गर्नका लागि अघि बढेको र रातारात काठमाण्डाै परिवर्तन गर्ने योजनामा रहेको सुनाए ।  

उनले  भने, ‘आदेश भएर नै हामी आएको हो । अब काम गर्न रोकिँदैन, अघि बढेपछि बढेको बढ्यै हो । चीनकाे महानगर देख्नुभएको छ ? हामी चीनको महानगरको स्टाइलले अघि बढ्न चाहन्छौँ । त्यहाँ आज केही हुँदैन तर भोलि अर्कै संरचना बनिसकेको हुन्छ । रातारात काठमाण्डाै चेन्ज गर्नुपर्छ । अब सुत्ने होइन, उठ्ने बेला हो ।’

केही दिनअघि जय नेपाल सिनेमा हल परिसरमा महानगरले डोजर चलाएर भूमिगत अवस्थामा रहेको टुकुचा निकालेको थियो । हिजाे आइतवार टुकुचा खोलामाथि बनेका भौतिक संरचना नभत्काउन उच्च अदालत पाटनले काठमाण्डाै महानगरलाई आदेश दिएको थियो । यद्यपि महानगरले भने टुकुचा खोला उत्खननको प्रक्रिया अघि बढाएको छ । 


  • सम्बन्धित विषय:

  • # काठमाण्डाै
  • # राजु पाण्डे


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend