असोज ३० गते २०८३ || October 16, 2026

आज राष्ट्रिय धान दिवस एवं रोपाइँ महोत्सव दहि चिउरा खाएर मनाइँदै


पिपल अनलाइन
शुक्रबार, असार १५ २०८००६:३८

आज राष्ट्रिय धान दिवस एवं रोपाइँ महोत्सव दहि चिउरा खाएर मनाइँदै

 काठमाडौँ -  ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादन वृद्धि’ मूल नाराका साथ आज देशैभर २० औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदै छ । 

कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतका विभिन्न निकाय तथा विभागले विचार गोष्ठी, तथा रोपाइँ गरेर महोत्सव मनाइने कृषि विभागका महानिर्देशक एवं धान दिवस तथा रोपाइँ महोत्सव मूल आयोजक समितिका अध्यक्ष डा हरिबहादुर केसीले बताएका छन् ।  

‘मानो रोपेर मुरी फलाउने’ दिनका रूपमा पनि यो धान दिवस तथा रोपाइँ महोत्सवका रूपमा मनाउने गरेको छ । यो दिवसका दिन अधिकांश स्थानमा रोपाइँ सुरुवात गर्ने गरेको पाइन्छ । खेतमा रोपाइँ गरी दही चिउरा खाने भएकाले यस दिनलाई दही चिउरा खाने दिनका रूपमा पनि मनाउने गरेको बताइन्छ । 

धान रोपाइँ महोत्सवका अवसरमा रोपाइँ गर्ने दिन हिलो छ्यापेर पनि मनाउने गरिन्छ । पोखरा, चितवनलगायतका ठाउँमा विशेष महोत्वसका रूपमा यो दिनलाई मनाउने गरिन्छ । ती ठाउँमा विदेशी पर्यटकको पनि सहभागिता हुन्छ । रोपाइँ गर्दैगर्दा विदेशी पर्यटकले हिलो छ्यापेर महोत्सव मनाउने गरेको पाइन्छ । 

कृषिप्रधान देश नेपालमा खाद्य सुरक्षाको प्रमुख आधारका रूपमा रहेको धानको उत्पादनलाई महत्व दिँदै आएका कारण सरकारले असार १५ राष्ट्रिय धान दिवसका रूपमा मनाउँदै आएको महानिर्देशक केसीले बताए । प्रमुख खाद्यान्न बाली धान खाद्य सुरक्षाको प्रमुख आधार रहेको बताउँदै उनले यसको आर्थिक, सामाजिक, सांस्कृतिक र धार्मिकलगायत महत्त्व रहेको बताए । धान एक बाली मात्र नभई औसत नेपालीको जीवन पद्धति पनि हो । धानको यिनै विविध महत्त्वलाई दृष्टिगत गरी यसको उत्पादन वृद्धि एवं आधुनिकीकरण र व्यवसायीकरणलाई प्रवर्धन गर्ने उद्देश्यले २०६१ सालदेखि नियमित रूपमा प्रत्येक वर्ष असार १५ मा राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदै आएको छ ।  


  • सम्बन्धित विषय:

  • # आज राष्ट्रिय धान दिवस एवं रोपाइँ महोत्सव दहि चिउरा खाएर मनाइँदै
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend