असोज ३० गते २०८३ || October 16, 2026

वैदेशिक रोजगारीमा गएका १२ हजारले ज्यान गुमाए


पिपल अनलाइन
शुक्रबार, असार १५ २०८००८:२७

वैदेशिक रोजगारीमा गएका १२ हजारले ज्यान गुमाए

 काठमाडौँ - एक दशकभित्र वैदेशिक रोजगारीमा गएका करिब १२ हजारले ज्यान गुमाएका छन् । वैदेशिक रोजगार प्रवद्र्धन बोडका अनुसार आर्थिक वर्ष २०७०र७१ देखि अहिलेसम्म १२ हजार १ सय २४ जना कामदारको मृत्यु भएको छ। ती मृतक कामदारका परिवारलाई बोर्डको कल्याणकारी कोषबाट ४ अर्ब ५० करोड ९५ लाख १९ हजार रूपैयाँ प्रदान गरिएको छ ।

वैदेशिक रोजगारीमा गएका नेपाली बिरामी र अंगभंग हुने दर बढ्दै गएको पाइएको छ। सो अवधिमा २ हजार ५ सय ४४ जना बिरामी र अंगभंग भई नेपाल फर्किएका छन्।

रोजगारी खोजी गर्दै बर्सेनि हजारौं नेपाली विभिन्न देश पुग्छन्। यसरी विदेसिएका नेपालीमध्ये कडा खालको रोग लागेर बिरामी हुने, कामका क्रममा अंगभंग हुने र मृत्यु हुनेको संख्या बढ्दै गएको वैदेशिक रोजगार बोर्डको तथ्यांक छ।

मुख्य गरी मुटुसम्बन्धी रोग, सडक दुर्घटना, कार्यस्थल दुर्घटना, मिर्गौला रोग, हृदयाघात, क्यान्सर र अन्य विभिन्न कारणले वैदेशिक रोजगारीमा गएका नेपाली बिरामी, घाइते हुने गरेका छन्। कतिपयले ज्यानै गुमाएका छन्। विशेषगरी खाडी मुलुकमा गएका नेपालीले बढी सास्ती पाएका छन्।

कामका लागि विदेश पुगेकामध्ये बिरामी तथा अंगभंग हुनेमा हालसम्म सबैभन्दा धेरै मलेसियामा ७ सय ६० जना छन्। त्यस्तै अंगभंग र बिरामी भई घर फर्किनेमा साउदी अरेबियाबाट ५ सय ८५, कतारबाट ४ सय ८३, संयुक्त अरब इमिरेट्सबाट २ सय ५६ जना, कुवेतबाट १ सय ११ जना नेपाली रहेको बोर्डको तथ्यांकले देखाएको छ।

मलेसिया, साउदी अरेबिया र कतारमा बिरामी तथा अंगभंग र मृत्यु हुने नेपालीको संख्या अन्य देशको तुलनामा धेरै रहेको बोर्डले जनाएको छ। मलेसियामा आपसी झगडाका कारणले पनि नेपालीको मृत्यु हुने गरेको बोर्डले जानकारी गराएको छ।

यो तथ्यांक वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको मात्रै हो। गैरकानुनी हैसियतमा वैदेशिक रोजगारीमा गएका, श्रम स्वीकृतिको अवधि सकिएर अलपत्र परेका र ज्यान गुमाएका नेपालीको लेखाजोखा छैन। वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढ्दै गएको छ।

विगत लामो समयदेखि विदेशमा मृत्य र अंगभंग हुने नेपालीको संख्यामा बढ्दै गएको छ। वैदेशिक रोजगारीमा जानेले स्वास्थ्य जाँच गराए पनि त्यहाँ पुगेपछि परिवर्तित वातावरणका कारण बिरामी हुने गरेका छन्। वैदेशिक रोजगारीका क्रममा हृदयाघात भई ज्यान गुमाउनेको संख्या बढी छ।

त्यस्तै, सडक दुर्घटनामा, आत्महत्या गरेको डरलाग्दो तथ्यांक छ।नेपाली अनुसन्धानकर्ताको समूहले गरेको अनुसन्धानमा पनि धेरै नेपाली श्रमिकले हृदयाघातलगायत मुटुसम्बन्धी समस्याले बिरामीसँगै ज्यान गुमाउनु परेको वैदेशिक रोजगार बोर्डका शाखा अधिकृत नरबहादुर चन्दले बताए।

‘खाडीमुलुकमा युवावस्थामै हृदयाघातले मृत्यु हुनेहरूको संख्या धेरै हुनुमा त्यहाँको उच्च तापक्रम र काम गराइ नमिल्नु हो। यस अतिरिक्त परिवर्तित वातावरणमा उनीहरूको जीवनशैली नमिल्नु र हेलचेक्य्र्राइँ गर्नु पनि अर्को कारण हो,’ शाखा अधिकृत चन्दले भने।

विदेशमा सडक दुर्घटनामा र प्राकृतिक कारणले गर्दा पनि धेरै नेपालीको ज्यान जाने गरेको छ। आत्महत्या गर्नेको संख्या पनि उत्तिकै छ। यस्ता कारणले गर्दा वैदेशिक रोजगारमा ज्यान गुमाउनेको संख्या बढ्दै गएको बोर्डका अधिकृतहरूको भनाइ छ। नागरिक दैनिकबाट


  • सम्बन्धित विषय:

  • # वैदेशिक रोजगारीमा गएका १२ हजारले ज्यान गुमाए
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend