ललितपुर - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै आयात धान्न मुश्किल हुँदै गएकाले अब विद्युतीय उपकरण प्रयोग गर्न आह्वान गरेका छन्।
ललितपुरमा आज आयोजित एक कार्यक्रममा उनले विगतको तुलनामा विद्युत सस्तो भएको र खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढेकाले आफ्नै देशको कच्चा पदार्थबाट उत्पादित ऊर्जा प्रयोग गर्न आग्रह गरेकी हुन्। ग्यासको सट्टा इन्डक्सन चुल्हो प्रयोग गर्ने नीतिअनुसार आफूले विद्युतको महसुल घटाएको उल्लेख गर्दै मन्त्री भुसालले भने, “यहाँहरूलाई मेरो विशेष अपिल छ, विद्युतीय चुल्हो प्रयोग गरौँ । त्यो ग्याससभन्दा सस्तो छ ।”
हाल एक सिलिन्डर ग्यासको मूल्य एक हजार पाँच सयभन्दा बढी भएको छ । त्यसको मूल्य निरन्तर बढ्दै जानेछ । त्यसैगरी पेट्रोल र डिजेलको मूल्य पनि बढ्दै गएको छ । एक लिटर पेट्रोलको मूल्य १५० रुपियाँ तथा एक लिटर डिजेलको मूल्य १३० रुपियाँभन्दा बढी पुगेको र आगामी दिनमा तिनको मूल्य निरन्तर बढ्ने भएकाले पनि विद्युतीय साधन प्रयोग गरेर जीवनलाई सहज बनाउनुपर्नेमा उनको जोड थियो ।