काठमाडौं - माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी र आफूले देशका लागि संघर्ष गर्दा डरलाग्दो धम्की झेलेको बताएको छ। शनिबार नुवाकोटको विदुरमा आयोजित स्वर्गीय नेता पोष्टबहादुर बोगटीको शालिक अनावरण समारोहलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएको हो।
राष्ट्रिय स्वाधीनताको पक्षमा कसैको दबाब र धम्कीसँग नझुकी संविधान निर्माण गर्दा आफूले डरलाग्दो दबाब र धम्की झेलेको उनको भनाइ छ। ‘राष्ट्रिय स्वाधीनताको पक्षमा कसैको दबाब र धम्कीसँग नझुकी संविधान बनाएका थियौँ। सबैभन्दा ठूलो दबाब विदेशबाट माओवादी केन्द्र र अध्यक्ष प्रचण्डले झेलेको छ’, प्रचण्डले भने, ‘इतिहासमा ठरलाग्दो दबाब र धम्की झेलेको हो। दबाब र धम्कीबाट झुकिदैन भनेर संविधान जारी भएको हो।’
अहिलेसमेत अमेरिकी विकास सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित गर्दा त्यही अवस्था आएको उनको भनाइ छ। एमसीसी पारित गर्दा केही समस्या देखिए पनि अहिले समाधान भइसकेको उनले प्रष्ट पारे।